चट्याङ लागेर रौतहटमा दुई किशोरको दुःखद निधन

21

 

रौतहट, १९ असोज

निरन्तरको वर्षाका कारण परेको चट्याङले रौतहटमा दुई जना किशोरको ज्यान गएको छ। शनिबार साँझ कटहरिया नगरपालिकामा भएको यस दुःखद घटनामा अन्दाजी १६ वर्षीय सेहराज लहरी र नवीन यादव को घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्की ले दिएको जानकारी अनुसार, यो घटना शनिबार साँझ करिब ६:३० बजे तिर कटहरिया नगरपालिका वडा नम्बर ५, हथियाहीमा भएको हो। अविरल वर्षा भइरहेका बेला दुई किशोरलाई चट्याङ लागेको थियो।

एकैसाथ दुई युवाको मृत्यु

स्थानीय बासिन्दाका अनुसार १६ वर्षीय सेहराज लहरी र नवीन यादव साँझको समयमा वर्षाबाट बच्नका लागि सुरक्षित ठाउँ खोजिरहेका बेला अचानक ठूलो आवाजसहित चट्याङ खसेको थियो। चट्याङको सीधा असरले दुवै किशोर गम्भीर घाइते भएका थिए।

प्रहरी नायब उपरीक्षक कार्कीले चट्याङ लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।प्रवक्ता कार्कीका अनुसार, ज्यान गुमाएका दुवै किशोरको शव पोस्टमार्टमका लागी अस्पताल लगिएको हो । विपद् जोखिम र सचेतनाको आवश्यकता

मनसुन तथा वर्षाको समयमा चट्याङबाट हुने मानवीय क्षतिका घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दै गएका छन्। यस दुःखद घटनाले वर्षाको समयमा सर्वसाधारणलाई सचेत र सुरक्षित रहन तथा खासगरी खुल्ला ठाउँ, रूखमुनि र पानी जमेको क्षेत्रमा बस्नु वा हिँडडुल गर्नु जोखिमपूर्ण हुने हुँदा सावधानी अपनाउनु आवश्यक रहेको विज्ञहरू बताउँछन्। जिल्ला प्रशासन कार्यालय रौतहटले पनि विपद् जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सावधानी अपनाउन सबैमा आग्रह गरेको हो ।

Leave A Reply

Your email address will not be published.