मधेशसमाचार

बेमौसमी वर्षा र बाढीले किसानको सपना डुबायो, मेहनत खरानीमा

रौतहट , १५ कार्तिक

बेमौसमी वर्षा र बाढीले रौतहटका किसानको महिनौँको मेहनत एकछिनमै बगाएको छ। खेतभरी धान पाकेर घर भित्र्याउने तयारीमा रहेको धानबाली अहिले पानीमा डुबेर सड्ने अवस्थामा पुगेको हो ।

वर्षा सुरु हुनुअघि नै किसानले दिनरात मेहनत गरी खेतमा बिजुली मोटर चलाउँदै, महँगो बीउ, मल र श्रमिकको खर्च व्यहोरी धानबाली उब्जाएका थिए। धान बाली भित्र्याउने बेलामा परेको अविरल वर्षा र बाढीले सबै मेहनत नष्ट गरिदिएको हो ।

किसानहरू भन्छन्, देशमा सडक, भवन र सिँचाइ परियोजनाको विकास भइरहेको छ, तर कृषि क्षेत्रमा कुनै सरकारले हाम्रो दुःख बुझेन। समयमै मल, बीउ र सिँचाइ सुविधा नपाएर पनि जसोतसो धान उब्जायौँ, तर अन्त्यमा पानीले सबै बगायो।

यस वर्ष रौतहटमा मात्रै दर्जनौँ किसानको मृत्यु भएको हो । अधिकांश किसानहरू धानमा सिँचाइका लागि बिधुतीय मोटर चलाउँदा करेन्ट लागेर ज्यान गुमाएका हुन्। दुःखद कुरा त, यस्ता घटनाको रोकथामका लागि सम्बन्धित निकायले कुनै ठोस कदम चालेको छैन।

रौतहटसँगै पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका तराई-मधेशका जिल्लाहरूमा समेत किसानको मेहनत पानीमै बगेको हो । हजारौं बिगाहा खेतमा लगाइएको पाकेको धान बाढी र वर्षाले नष्ट भएपछि किसानहरू अहिले असहाय र पीडित बनेका छन्।

किसानहरूको आवाजमा आक्रोश र बेदना झल्किन्छ, हामी दिनरात खेतमा पसिना बगाउँछौं, तर हाम्रो श्रमको मूल्य न सरकारले बुझ्छ न बजारले। वर्षा आयो, बाढी आयो, अनि हाम्रो सपना फेरि भत्कियो।

बेमौसमी वर्षा र प्राकृतिक प्रकोपको मारले यो वर्ष रौतहटका किसानका लागि दुःख, ऋण र निराशाको वर्ष बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button