पर्सामा हैजाविरुद्धको खोप अभियान कात्तिक २७ सम्म सञ्चालन

3

बिरगंज, २४ कार्तिक 

पर्सामा हैजा महामारीविरुद्धको खोप अभियान कात्तिक २७ गतेसम्म विस्तार गरिएको छ। अभियान छठ पर्व अघि सुरु गरिएको थियो र छठपछि पनि निरन्तरता दिइएको हो।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म लक्षित वर्गमध्ये ८७ प्रतिशतले खोप लिइसकेका छन्। बाँकी १३ प्रतिशतलाई पनि चार दिनभित्र खोप दिने लक्ष्य राखिएको छ।

अभियानका क्रममा वीरगन्ज महानगरमा केही व्यक्तिले खोप लिन आनाकानी गरिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। यसका लागि घर–घर पुगेर खोप दिइरहेको बताइएको छ।

छठ अघि सञ्चालन गरिएको अभियानले पर्साका १४ वटै स्थानीय तहमा ८४ प्रतिशत मात्र कभरेज हासिल गर्न सकेको थियो। जगरनाथपुर गाउँपालिका ९४% कभरेजसहित सबैभन्दा अगाडि रह्यो भने जिरा भवानी गाउँपालिका ७८% कभरेजमा पछाडि रह्यो।

अभियानमा १,५४४ महिला स्वास्थ्य स्वयंसेविका र ३५० स्वास्थ्यकर्मी गरी कुल १,८९४ जनशक्ति परिचालन गरिएको छ।

वीरगंजमा हालसम्म २,२७ जना हैजामा संक्रमित पुष्टि भएका छन्। पोखरिया नगरपालिकामा पनि १८ जनामा संक्रमण पाइएको छ। पानीको परीक्षणबाट हैजाको जीवाणु फेला परेको छैन र रोगको स्रोत पत्ता लाग्न सकेको छैन।

खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई हैजाबाट जोगाउने र महामारी फैलिनबाट रोक्ने महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.