सिम्रौनगढ नगरसभाको स्थगन विवाद: अन्ततः बैठक सम्पन्न

122

बारा , १५ माघ

बाराको सिम्रौनगढ नगरपालिकामा आज बस्ने भनिएको नगरसभा सुरु गर्न विवाद उत्पन्न भएपनि अन्ततः बैठक सम्पन्न भएको छ।
अदालतको फैसलाअनुसार एक महिनाभित्र नगरसभा आयोजना गर्नुपर्ने बाध्यता रहेकाले बिहिबार नगरसभा बस्ने तयारी गरिएको थियो। तर निर्धारित समयमा नगरपालिका कार्यालयमा उप–प्रमुख नजमु शेहर, दुई जना वडा अध्यक्ष तथा पाँच–सात जना वडा सदस्यबाहेक अन्य जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति नहुँदा उप–प्रमुख शेहरले नगरसभा स्थगित गर्ने निर्णय गरेकी थिइन्। उनले नगर प्रमुख स्वयं उपस्थित भएर स्थगनको जानकारी दिनुपर्ने भए पनि नगर प्रमुख नआएको गुनासोसमेत गरेकी थिइन्। स्थानीय तह संचालन ऐन २०७४ अनुसार उप–प्रमुखले उपस्थित नगर प्रमुख नहुँदा नगरसभा स्थगित गर्न सक्ने कानुनी अधिकार राख्छिन्।
तर नगरप्रमुख किशोरी प्रसाद कलवारले सिम्रौनगढ नगरपालिकाबाट जारी गरिएको माघ ७ गतेको सूचना अनुसार बिहिबार, मिति २०८२/१०/१५, विहान १०:०० बजे नगरसभा बैठकको आह्वान भएको र निर्वाचन आचार संहिताको कारणले मिति १४ गते बुधबार निर्वाचन आयोगसँग सहमति माग गरिएको बताइन्। सहमति प्राप्त भएपछि बैठक दिउँसो ३:३० बजे सुरु भएको थियो।
बैठकमा उपस्थित सभासदहरूले दिउँसो ३:३० देखि साझ ६:०० बजे सम्म विभिन्न प्रस्ताव र निर्णयमा छलफल गरेका थिए। छलफलको क्रममा बहुमतबाट निर्णय पारित भएका र नगरसभा सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जानकारी दिएको छ।
यो विवादले स्थानीय प्रशासनमा समयमै सहकार्य र उपस्थित जनप्रतिनिधिको आवश्यकता महत्वपूर्ण रहेको देखाएको छ। नगरसभा सञ्चालनमा ढिलाइ हुनु कानूनी र प्रशासनिक प्रक्रिया दुवैको पालनामा चुनौती उत्पन्न गर्ने घटनाको रूपमा लिइएको छ।

Leave A Reply

Your email address will not be published.