असिना–पानीले बाली सखाप, राहत नपाएको भन्दै किसानद्वारा सिम्रौनगढ नगरपालिकामा धर्ना
बारा , १६ माघ
गत बैशाख ४ गते आएको असिना–पानीका कारण सिम्रौनगढ नगरपालिका अन्तर्गतका किसानहरूको बाली पूर्ण रूपमा नष्ट भएपछि पीडित किसानहरूले राहत नपाएको गुनासो गर्दै नगरपालिकाको मुख्य गेटमा धर्ना दिएका छन्।
बिहिबार किसानहरूले नगरपालिकाको गेट अगाडि धर्ना बस्दै तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्। धर्नामा सहभागी किसानहरूका अनुसार प्राकृतिक विपत्तिबाट बाली सखाप भएको लामो समय बितिसक्दा पनि कुनै प्रकारको राहत नपाउँदा बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो।
धर्नामा सहभागी किसान राम प्रवेश कुशवाहाका अनुसार नगरपालिकासँग पटक–पटक सहमति भए पनि कार्यान्वयन नभएकाले किसानहरू अन्यायमा परेको महसुस गरिरहेका छन्। “हामीले नगरपालिकासँग धेरै पटक छलफल गर्यौं, सहमति पनि भयो, तर अहिलेसम्म राहत आएको छैन,” उनले बताए।
यस विषयमा सिम्रौनगढ नगरप्रमुख किशोरी प्रसाद कलवारसँग प्रतिक्रिया लिँदा किसानहरूका लागि राहत उपलब्ध गराउन बजेट विनियोजन गरिएको जानकारी दिए। तर उनले नगरपालिकाको आर्थिक वर्ष २०८२/०८२ को नगरसभा सम्बन्धी विषय उच्च अदालत वीरगञ्जमा मुद्दा परेकाले नगरपालिकाको कुनै पनि बजेट हालसम्म सञ्चालन हुन नसकेको स्पष्ट पारे।
नगरप्रमुख कलवारका अनुसार उच्च अदालत वीरगञ्जको आदेशपछि बिहिबार सम्पन्न नगरसभाको दोस्रो बैठक (बन्द सत्र) सम्पन्न भइसकेको छ। अब कानुनी प्रक्रियामा कुनै अवरोध नरहेकाले प्रभावित किसानहरूलाई छिट्टै राहत उपलब्ध गराइने उनले आश्वासन दिए।
बाली नष्ट भएर आर्थिक संकटमा परेका किसानहरूले भने आश्वासन मात्र होइन, तत्काल व्यवहारिक राहतको अपेक्षा गरेका छन्। समयमै राहत नआए आन्दोलनलाई थप कडा बनाउने चेतावनीसमेत किसानहरूले दिएका छन्।