मधेशसमाचार

बारा–२ मा जनता लोकतान्त्रिक पार्टीका उम्मेदवार श्याम चौधरीको चुनावी अभियान तीव्र, पाँच हजार रोजगारी सिर्जनाको प्रतिबद्धता

बारा–२ मा जनता लोकतान्त्रिक पार्टीका उम्मेदवार श्याम चौधरीको चुनावी अभियान तीव्र, पाँच हजार रोजगारी सिर्जनाको प्रतिबद्धता

कलैया , २१ माघ

जनता लोकतान्त्रिक पार्टीका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार श्याम चौधरीले निर्वाचित भएपछि आफ्ना क्षेत्रमा पाँच हजार रोजगारी सिर्जना गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट, घरदैलो तथा आमसभामा बोल्दै उनले स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर योजनाबद्ध काम गर्ने बताएका हुन्।

चौधरीले बारा–२ का आमा, दिदीबहिनी तथा युवालाई लक्षित गर्दै सीपमूलक तालिम प्रदान गरी रोजगारीसँग जोड्ने योजना अघि सारेका छन्। “स्थानीय युवाशक्ति र महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने मेरो पहिलो प्राथमिकता हो,” उनले भने, “रोजगारीकै कारण पलायन हुनुपर्ने अवस्थाको अन्त्य गरिन्छ।”

पूर्वाधार विकासतर्फ उनले विद्युत् तारलाई भूमिगत गरी नालासहितको आधुनिक सडक निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। उनका अनुसार यस किसिमको संरचनाको आयु कम्तीमा ५० वर्ष रहनेछ, जसले दीर्घकालीन रूपमा जनतालाई सेवा दिनेछ। साथै सदरमुकामसँग जोडिने सम्पूर्ण सडकहरूको स्तरोन्नति र विकास गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

शिक्षा क्षेत्रमा चौधरीले जिल्लालाई साक्षर घोषणा गराउने लक्ष्यसहित काम गर्ने बताएका छन्। प्राविधिक युक्त विश्व विद्यालय स्थापना गर्ने योजना प्रस्तुत गर्दै उनले स्थानीय युवालाई गुणस्तरीय र व्यवहारिक शिक्षा आफ्नै जिल्लामा उपलब्ध गराउने धारणा राखे। साथै बारा–२ का विद्यार्थीहरूका लागि काठमाडौंमा दुई वटा छात्रावास निर्माण गर्ने र उपचारका लागि जाने बिरामी तथा कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने योजना पनि उनको घोषणापत्रमा समेटिएको छ।

स्वास्थ्य सेवाको सुधारतर्फ उनले प्रादेशिक अस्पताल कलैयालाई दक्ष जनशक्ति सहित स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन्। “अस्पताललाई आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित सक्षम बनाइनेछ, ताकि जनताले गुणस्तरीय उपचार आफ्नै जिल्लामा पाउन सकून्,” उनले बताए।

चुनावी अभियानमा सहभागी स्थानीय मतदाताले चौधरीका योजनाहरू व्यवहारिक र दीर्घकालीन भएको प्रतिक्रिया दिएका छन्। स्थानीय युवाहरूले रोजगारी र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएकोमा सकारात्मक धारणा व्यक्त गरेका छन्।

चौधरीले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई समेट्ने समग्र दृष्टिकोणसहित जनताको विश्वास जित्दै चुनावी मैदानमा आफूलाई बलियो उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button