मधेशसमाचार

पूर्वाधार विकासमा पारदर्शिता माग्दै तरुण दल बाराद्वारा ज्ञापनपत्र

कलैया, १६  चैत

नेपाल तरुण दल बारा जिल्लाले पूर्वाधार विकास कार्यालय, कलैयामा ज्ञापनपत्र बुझाउँदै विकास योजनाहरूको कार्यान्वयनमा पारदर्शिता, कानुनी प्रक्रिया र मापदण्डको कडाइका साथ पालना गर्न माग गरेको छ।

जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको नेतृत्वमा गएको टोलीले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने सम्पूर्ण योजनाहरू प्रचलित नियम, कानुन तथा प्राविधिक मापदण्डअनुसार मात्रै कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारेको हो। ज्ञापनपत्रमार्फत योजनाहरूमा हुने अनियमितता, कमिसन प्रथा तथा सेटिङका आधारमा हुने कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

तरुण दलले सबै योजनाहरू सम्बन्धित निकायमार्फत पारदर्शी ढंगले सञ्चालन हुनुपर्ने उल्लेख गर्दै योजना खरिद–बिक्री गर्ने प्रवृत्ति रोक्न जोड दिएको छ। “योजनाहरू दलालमार्फत किनबेच हुनु विकास प्रणालीकै लागि घातक हो,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, सम्पन्न भएका योजनाहरूको भुक्तानी प्रक्रिया वास्तविक काम सम्पन्न भइसकेपछि मात्र, पेश गरिएका बिल, भरपाई तथा आवश्यक कागजातको आधारमा गर्नुपर्ने माग गरिएको छ। कागजी प्रक्रिया मिलाएर मात्रै भुक्तानी गर्ने प्रवृत्ति रोक्न समेत ध्यानाकर्षण गराइएको छ।

कार्यालयलाई सम्बोधन गर्दै तरुण दलले सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई प्रचलित ऐन, नियम र मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। विकास निर्माणका काममा पारदर्शिता कायम नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ।

उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, बारा, भौतिक पूर्वाधार विकास मन्त्रालय, जनकपुरधाम तथा अर्थ मन्त्रालय, जनकपुरधामलाई समेत पठाइएको तरुण दल बाराले जनाएको छ।

स्थानीय तह र प्रदेशस्तरका विकास योजनामा पछिल्लो समय अनियमितता र ढिलासुस्तीको गुनासो बढ्दै गइरहेका बेला तरुण दलको यो कदमलाई सुधारको दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button