मधेशसमाचार

अनुभवी अधिकृत अबिन्दर दास पुनः गौर यातायात कार्यालय प्रमुखमा हाजिर

रौतहट, १६ चैत

यातायात व्यवस्था कार्यालय गौर, रौतहटमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै अनुभवी अधिकृत अबिन्दर दास सोमबारदेखि हाजिर भएका छन्। लामो समयदेखि यातायात विभाग अन्तर्गत विभिन्न कार्यालयहरूमा कार्यरत रहँदै आएका दासको पुनः आगमनसँगै कार्यालयको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

दासले यसअघि यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुखको रूपमा कार्यसम्पादन गर्दै सेवाग्राहीमैत्री र पारदर्शी प्रशासनिक अभ्यासका कारण राम्रो छवि बनाएका थिए। उनको कार्यकालमा लाइसेन्स वितरण, सवारी दर्ता तथा नवीकरण जस्ता सेवाहरूमा सुधार आएको भन्दै सेवाग्राहीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।

नव नियुक्त प्रमुख दासले पदभार ग्रहणसँगै कार्यालयको सेवा प्रवाहलाई छिटो, छरितो र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सेवाग्राहीले भोग्दै आएका समस्या समाधानलाई प्राथमिकतामा राख्दै काम गर्ने बताउँदै कर्मचारीहरूलाई पनि जिम्मेवार र अनुशासित ढंगले काम गर्न निर्देशन दिएका छन्।

“सेवाग्राहीले सहज र पारदर्शी सेवा पाउनु उनीहरूको अधिकार हो, त्यसका लागि कार्यालयलाई अझ व्यवस्थित बनाउनेछौं,” दासले भने।

यातायात व्यवस्था कार्यालय गौरमा लामो समयदेखि देखिँदै आएको ढिलासुस्ती, अनियमितता तथा बिचौलियाको प्रभाव न्यूनीकरण हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा समेत दासको अनुभव र कार्यशैलीले कार्यालयको समग्र सुधारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

स्थानीय सेवाग्राहीहरूले समेत दासको पुनः आगमनलाई सकारात्मक रूपमा लिँदै अब सेवा प्राप्तिमा सहजता आउने अपेक्षा व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button