मधेशसमाचार

सञ्चारकर्मी सञ्जय मिश्रमाथि सामाजिक सञ्जालमा गालीगलौज: पत्रकार महासंघद्वारा कडा आपत्ति, कारबाहीको माग

रौतहट , १६ चैत

समाचार सामग्रीलाई लिएर सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमार्फत गरिएको गालीगलौज तथा मानमर्दनप्रति नेपाल पत्रकार महासंघका तीनै तहले गम्भीर आपत्ति जनाएका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, मधेश प्रदेश समिति तथा रौतहट शाखाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सञ्जय मिश्रामाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका हुन्। रातोपाटी डटकमका रौतहट संवाददाता मिश्रामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता ‘आइसपोट प्रभु’ नामबाट असभ्य भाषा प्रयोग गर्दै गालीगलौज र मानमर्दन गरिएको जनाइएको छ।

विज्ञप्तिमा समाचारप्रति असहमति भए प्रचलित कानुनी प्रक्रिया अपनाउनु पर्नेमा सामाजिक सञ्जालमार्फत व्यक्तिको प्रतिष्ठामाथि आघात पुर्‍याउने कार्य निन्दनीय मात्र नभई सामाजिक अपराधसमेत भएको उल्लेख गरिएको छ। पत्रकारमाथि यस्ता आक्रमणले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रश्न उठाउने महासंघको ठहर छ।

विज्ञप्तिमा रामप्रसाद दाहाल, शैलेन्द्र महतो क्रान्ति तथा गौतम श्रेष्ठको हस्ताक्षर रहेको छ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, सामाजिक सञ्जालमार्फत हुने यस्ता दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पत्रकारको सुरक्षाको प्रत्याभूति गराउन पनि जोड दिएको छ।

पत्रकारमाथि बढ्दो दुर्व्यवहार र धम्कीका घटनाले सञ्चारकर्मीहरूको कार्यसम्पादनमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न राज्य गम्भीर बन्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button