
हरिकिशोर शर्मा
पर्सा, ०५ जेठ
पर्साको ठोरी गाउँपालिकामा कर्ण स्मृति केन्द्रद्वारा आयोजित गाउँपालिका स्तरीय SEE परीक्षा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। सरस्वती माध्यमिक विद्यालय, गौतमनगर ठोरीमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्य ले नगदसहित पुरस्कार वितरण गर्नुभएको हो।
कार्यक्रममा गाउँपालिका स्तरीय SEE परीक्षामा प्रथम हुने अन्सु खनाललाई प्रमाणपत्रसहित २१ हजार रुपैयाँ तथा द्वितीय हुने अन्जल अर्याललाई प्रमाणपत्रसहित ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कर्ण स्मृति केन्द्रका संयोजक सन्तोष श्रेष्ठले ट्रस्टले विगत केही वर्षदेखि ठोरी क्षेत्रको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाक्यले यस वर्ष SEE परीक्षाको नतिजा ठोरीमा अपेक्षाअनुसार नभए पनि त्यसलाई सिकाइको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रमा ३.६६ GPA हासिल गर्नु सानो उपलब्धि नभएको उल्लेख गर्दै प्रथम हुने अन्सु खनाललाई विशेष बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष अमृतकृष्ण सापकोटा, शिक्षा प्रमुख भूपाल जोशी, सन्तोष श्रेष्ठ तथा धीर सिंहलगायतले मन्तव्य राख्नुभएको थियो। कर्ण मेमोरियल ट्रस्टका संस्थापक सदस्य अमित श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक रमेश नेपालले गर्नुभएको थियो।



