
रौतहट, ०५ जेठ
रौतहटको बौधीमाई नगरपालिकाका नगरप्रमुखमाथि एक शिक्षकमाथि दुर्व्यवहार, गालीगलौज तथा हातपात गरेको आरोप लागेको छ। घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित विद्यालयले विज्ञप्ति जारी गरी निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेको छ।
बौधीमाई नगरपालिका–८ स्थित शंकर माध्यमिक विद्यालय, सरमुज्वामा कार्यरत स्थायी शिक्षक रामबाबु यादवमाथि नगरप्रमुखबाट अभद्र व्यवहार भएको भन्दै विद्यालय प्रशासनले सार्वजनिक रूपमा विरोध जनाएको हो। विद्यालयका अनुसार प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक यादवमाथि गत वैशाख २९ गते मंगलबार नगरपालिका कार्यालयमै दुर्व्यवहार र हातपात भएको थियो।
पीडित शिक्षकले वैशाख ३० गते विद्यालय प्रशासनलाई घटनाबारे मौखिक जानकारी गराएपछि विषय सार्वजनिक भएको विद्यालयले जनाएको छ। त्यसपछि विद्यालयका प्रधानाध्यापक संजय जयसवालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरिएको हो।
विद्यालयद्वारा जारी विज्ञप्तिमा शिक्षकमाथि भएको भनिएको व्यवहारले शिक्षा क्षेत्रसँग आबद्ध शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गरिएको छ। “शिक्षा क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि हुने यस्ता हिंसात्मक र अमर्यादित व्यवहारले समाजमा नकारात्मक सन्देश प्रवाह गर्छ,” विज्ञप्तिमा भनिएको छ।
विद्यालय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै पदीय मर्यादा र जिम्मेवारीको ख्याल नगरी शिक्षकको आत्मसम्मानमाथि चोट पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी समेत दिइएको छ।
पत्र संख्या २०८२/०८३ तथा चलानी मिति २०८३/०२/०४ उल्लेख गरिएको उक्त विज्ञप्तिमा शिक्षक तथा कर्मचारीको सुरक्षाप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइएको छ।
घटनाबारे सम्बन्धित निकायबाट थप प्रतिक्रिया आउन बाँकी रहेको भए पनि यस विषयमा कानुनी प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेको बुझिएको छ। पछिल्लो समय रौतहटमा जनप्रतिनिधि र शिक्षक तथा कर्मचारीबीच विवाद र टकरावका घटना सार्वजनिक हुन थालेपछि स्थानीय तहको कार्यशैली र प्रशासनिक व्यवहारमाथि समेत प्रश्न उठ्न थालेको छ।



