पचरौता नगरपालिकाले मापदण्ड बिपरित दिवा खाजाको रकम निकासा गर्दै अनियमितता गरेको आशंका
शु.आ. सम्बाददाता
कलैया, ३१ आषाढ
बाराको पचरौता नगरपालिकाको नगरप्रमुख जलन्धर सिंह जैसवारले बिभिन्न सार्वजनिक कार्यक्रममा पालिकाको अधिकांश बजेट शिक्षामा बजेट खर्च गर्ने गरेको दाबी गर्दै आएका छन्। जसले गर्दा नगरप्रमुख जैसवारले पचरौता नगरपालिकालाई बारा जिल्लामा नै शिक्षाको हब बनाउने उदघोष गरेका थिए।
तर नगरप्रमुख जैसवार आफु निर्वाचित भएसँगै आफ्नो नातामा पर्ने भाई एवम् श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पचरौता -७ बेनौलीमा कार्यरत् रहेका बिधालय कर्मचारी मुकेश कुमार सिंहलाई शिक्षा शाखाको जिम्मेवारी दिँदै सह-सँयोजकको जिम्मेवारी प्रदान गरेका छन्।
बिधालय कर्मचारी सिंहले शिक्षा शाखाको सह-सँयोजकको जिम्मेवारीमा रहदै शिक्षा शाखालाई नै नगरप्रमुख जैसवारको भाई भएकोले आफ्नो ईशारामा चलाउने गरेको शिक्षकहरु सहित नगरपालिकाको कर्मचारीहरुले नै बताउने गरेका छन्। बिधालय कर्मचारी सिंहले नगरपालिकाको भित्रको २३ वटा बिधालयलाई कुन किसिमको मापदण्डमा सँचालन गरी शिक्षाको हब बनाउन सक्ने कल्पना देखेका नगरप्रमुख जैसवारको ३ बर्षे कार्यकालको अबधिमा शैक्षिक सत्र २०८१ को एसईई नतिजाले नै प्रष्ट पारी सकेको अवस्था छ।
शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा नगरपालिकाबाट ४ वटा बिधालयबाट साधारण तर्फ बाट एक सय ८९ जना बिधार्थी सहभागी भएका थिए। तर एसईई परीक्षामा जम्मा ३७ जना बिधार्थी मात्र उतिर्ण भएका छन्। भने प्राविधिक तर्फ ४४ जना एसईई परीक्षामा सहभागी भएकोमा जम्मा ८ जना उतिर्ण भएका छन्। उक्त तथ्याङ्कले समेत पचरौता नगरपालिकाको शिक्षा क्षेत्रको बारेमा व्याख्या गरी सकेको छ।
त्यति मात्र नभई नगरप्रमुख जैसवार र बिधालय कर्मचारी ( शिक्षा सह-सँयोजक ) सिंहको सहकार्य मापदण्ड बिपरित एक करोड २५ लाख ४६ हजार एक सय २० रुपैयाँ भुक्तानी गरी अनियमितता गरेको आशंका गरिएको छ ।महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण समेत उक्त कुराको उल्लेख गरेको छ।
लेखापरीक्षण अनुसार सामुदायिक विद्यालयका प्रारम्भिक बाल बिकास देखी कक्षा ६ सम्मका बिधार्थीहरुलाई दिवा खाजा कार्यक्रम कार्यन्वयन पुस्तिका २०८०/०८१ को क्रियाक्लाप नम्बर २, ७, ११, १ अनुसार प्रति विधार्थी रु १५ का दरले नगरभित्र रहेका २३ वटा विद्यालयको खातामा एक करोड २५ लाख ४६ हजार एक सय २० रुपैयाँ निकासा गरिएको थियो ।
दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ को अनुसूचि ७ बमोजिम विद्यालयले चौमासिक विवरणका आधारमा तथ्याङक भरेर माग गर्नुपर्ने व्यवस्था छ । दिवा खाजा व्यवस्थापनको लागि स्थानीय तहमा एक उपसमिति गठन गर्नुपर्ने, अभिभावक आमा समूह गठन गर्नुपर्ने, स्थानीय तहले उपस्थित विधार्थी संख्या अनुसार खाजा वितरण भए नभएको अनुगमन तथा मूल्याङकन गर्नुपर्ने र दोस्रो त्रैमासिक देखी निकासा गर्दा उक्त समय भन्दा अगाडी निकासा गरिएको रकम सदुपयोग भएको सुनिश्चित गरेर मात्र निकासा गर्नु पर्ने कानूनी व्यवस्था भए पनि दिवा खाजाको बजेटमा आर्थिक लाभ लिने नियमतले विभिन्न ५ वटा गोश्वारा भौचरबाट विद्यमान कानूनी प्रकृया पुरा नै नगरी एक करोड २५ लाख ४६ हजार एक सय २० रुपैयाँ निकासा दिएको देखिन्छ ।
नगरपालिकाले दिवा खाजा संचालन भएका विद्यालयहरुको प्रधानाध्यापकको बैठकबाट एकरुपता कायम गर्न कार्ययोजना बनाउनु पर्नेमा प्र.अ.को बैठक माईन्यूट पेश नभएको, समिति समूह गठन र भूमिका नदेखिएको, EIMS मा प्रविष्ट विधार्थीको तथ्याङकलाई सत्यापन नगरिएको, हाजिरी प्रतिलिपी र विद्यालयको माग पत्रलाई लेखापरीक्षणको क्रममा पेश नभएको , विद्यालय व्यवस्थापन समितिबाट प्रमाणित भएको बिवरण उपलब्ध नभएको , विद्यालयमा परिक्षाको उपस्थिति गणना तथा अनुगमन बिवरण र हाजिरी प्रतिलिपी उपलब्ध नभएको हुँदा उपस्थित विधार्थी संख्या यकिन नगरिएको महालेखाले औल्याएको छ । यसले अवैध आर्थिक लाभकै लागि जानी–जानी विद्यालयको मिलेमतोमा अनियमितता गरेको स्थानीयको आरोप लगाएका छन् ।
स्थानीय तहबाट निरीक्षण अनुगमन नभएको, विल भरपाई पेश नभएको र खर्च विधालय ब्यवस्थापन समितिबाट अनुमोदन नभएकोले दिवा खाजा बापत निकासा भएको रकम बढि निकासा भएको छैन भन्न सक्ने अवस्था नरहेको समेत लेखापरीक्षणमा औल्याईएको छ।
एक शिक्षकका अनुसार विद्यालयमा दिवा खाजाको रकम निकासा गर्नुभन्दा पहिले नै कमिसनको भागबण्डा मिलाई विद्यालयमा अनुगमन लगायतका प्रकृया पुरा नगर्ने शर्त अनुसार नै बढि निकासा दिएर अनियमितता गरिएको छ । जुन विद्यामान ऐन कानून प्रकृयालाई शिक्षा शाखा सहित नगरपालिकाले पुरा नगरेकोले अनियमितता भएको नकार्न सकिदैन् ।
अतः प्रत्येक विद्यालयमा अन्तिम परिक्षामा सहभागी भएका विधार्थीहरुको हाजिरीसंग IEIMS तथ्याङकसंग सत्यापन गरि दिवा खाजामा खर्च निकासा भएको रकम एकिन गर्नुपर्दछ । साथै उक्त सम्बन्धमा थप विश्लेषण गरी निकासा भएको रकम र विद्यालयहरुले पेश गरेको दिवा
खाजाको बिल भरपाई भिडान गरेको शिक्षा शाखाबाट प्रमाणित प्रतिवेदन सहित नगरपालिकाबाट दिवा खाजा खर्च निकासा सम्बन्धमा स्थानीय तहमा रहने उपसमितिबाट अनुगमन प्रतिवेदन पेश गर्नु लेखा परीक्षणमा निर्देशन दिएको छ।