
काठमाडौं , ६ असोज
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको नामावलीमा गत भदौ १५ गतेसम्म मतदाता विवरण दर्ता गराएका नागरिकको नाम समावेश गरिएको जनाएको छ।
आयोगले प्रारम्भिक नामावलीमा आफ्नो विवरण जाँच गरी त्रुटि भए सच्याउन तथा अयोग्य व्यक्तिको नाम समावेश भएको पाइएमा हटाउन असोज १२ गतेसम्म निवेदन तथा दाबी–विरोध पेश गर्न सकिने व्यवस्था गरेको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नाम, थर, जन्ममितिलगायत व्यक्तिगत विवरणमा त्रुटि भए आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सकिनेछ। उनले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र मतदान गर्न पाउने भएकाले तोकिएको अवधिभित्र सबैले आफ्नो विवरण अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेका छन्।
आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि दुईवटा प्रणाली अपनाएको छ। राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकले अनलाइन प्रणालीबाटै आफ्नो तस्बिर तथा जैविक विवरण उपलब्ध गराउन सक्नेछन्। राष्ट्रिय परिचयपत्रमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।
प्रारम्भिक नामावली सार्वजनिक गरिएको अवधिलाई आयोगले व्यक्तिगत विवरण सच्याउनेसँगै मतदाता नामावली शुद्धीकरण गर्ने अवसरका रूपमा लिएको छ। मतदाता बन्ने कानुनी योग्यता नपुगेका व्यक्तिको नाम समावेश भएको, नागरिकता त्याग गरिसकेको व्यक्ति सूचीमा रहेको वा अन्य कारणले नाम हटाउनुपर्ने अवस्था भएमा असोज १२ गतेभित्र सम्बन्धित प्रमाणसहित उजुरी वा निवेदन दिन सकिने आयोगले जनाएको छ।
तोकिएको समयसीमाभित्र प्राप्त हुने सच्याउने निवेदन, दाबी तथा विरोधमाथि आवश्यक छानबिन गरी आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेछ।



