
कलैया , १२ असोज
यस वर्ष विजयादशमीको तिथिका विषयमा नेपाली र भारतीय पञ्चाङ्गबीच देखिएको फरकका कारण उत्पन्न द्विविधा अन्त्य गर्न नेपाल ब्राह्मण समाज, बाराले कार्तिक ३ गते मंगलबार नै विजयादशमी मनाउने निर्णय गरेको छ।
नेपाल ब्राह्मण समाज बाराका अध्यक्ष अनिल कुमार पाण्डेको अध्यक्षतामा आइतबार बसेको सम्पूर्ण आचार्य, ज्योतिषी तथा शास्त्रीय ब्राह्मणहरूको बैठकले नेपाली क्यालेन्डर तथा नेपाली पञ्चाङ्गका आधारमा कार्तिक ३ गते मंगलबार बिहान ९ः४५ बजेपछि विजयादशमी मनाउने निर्णय गरेको हो।
भारतीय पञ्चाङ्गमा कार्तिक ३ गते मंगलबार विजयादशमी उल्लेख भए पनि नेपाली क्यालेन्डरमा कार्तिक ४ गते बुधबार विजयादशमी परेको देखिएपछि सर्वसाधारणमा अन्योल उत्पन्न भएको थियो। धार्मिक संस्कार, तिथि, मुहूर्त तथा शास्त्रीय मान्यतालाई आधार बनाएर गरिएको छलफलपछि बाराका आचार्य, ज्योतिषी तथा शास्त्रीय ब्राह्मणहरूको बैठकले कार्तिक ३ गते नै विजयादशमी मनाउने निर्णय गरेको समाजले जनाएको छ।
समाजले आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै बडादशैंका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको मिति र समयसमेत सार्वजनिक गरेको छ। विज्ञप्तिमार्फत दशैंका अवसरमा गरिने पूजा, हवन, कन्या पूजन तथा टीका ग्रहणका लागि सम्बन्धित दिनअनुसार धार्मिक विधि पूरा गर्न आग्रह गरिएको छ।
ब्राह्मण समाज बाराले सार्वजनिक गरेको कार्यक्रमअनुसार असोज २५ गते आइतबार घटस्थापना गरिनेछ। त्यसैगरी असोज ३० गते शुक्रबार बेलपूजन तथा निमन्त्रणा, असोज ३१ गते शनिबार फूलपाती, कार्तिक १ गते आइतबार महाअष्टमी तथा निशा पूजा र कार्तिक २ गते सोमबार महानवमी, कन्या पूजन तथा हवन गरिनेछ।
त्यसपछि कार्तिक ३ गते मंगलबार विजयादशमी तथा जयन्ती ग्रहण गरी टीका लगाउने कार्यक्रम रहेको समाजले जनाएको छ। बिहान ९ः४५ बजेपछि विजयादशमीको टीका ग्रहण गर्न उपयुक्त हुने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
समाजले नेपाली मौलिक पञ्चाङ्ग, शास्त्रीय विधि तथा ज्योतिषीय गणनालाई आधार बनाएर विजयादशमीको मिति निर्धारण गरिएको स्पष्ट पार्दै यस विषयमा देखिएको अन्योलमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको बैठकमा बाराका विभिन्न स्थानमा धार्मिक कर्मकाण्ड गराउँदै आएका आचार्य, ज्योतिषी तथा शास्त्रीय ब्राह्मणहरूको सहभागिता रहेको थियो। बैठकले दशैंका सबै धार्मिक अनुष्ठान निर्धारित तिथि र मुहूर्तअनुसार सम्पन्न गर्नसमेत आग्रह गरेको छ।



