मधेशसमाचार

प्रसौनी गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत केशरीको स्वागत, श्रीवास्तवको बिदाइ

बारा , १४ असोज

प्रसौनी गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृतका रूपमा पवन कुमार केशरीले बुधबारदेखि पदभार ग्रहण गरेका छन्। गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी रौतहटको देवाही गोनाही नगरपालिकाबाट सरुवा भई आएका केशरीको स्वागत तथा विगत ९ महिना २३ दिनदेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत नविन कुमार श्रीवास्तवको बिदाइ गरेको हो।
गाउँपालिकाको कार्यालयमा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रमअन्तर्गत दुवै अधिकृतलाई सम्मान तथा शुभकामना दिइएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले नवआगन्तुक प्रशासकीय अधिकृत केशरीलाई सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। देवाही गोनाही नगरपालिकामा कार्यरत रहँदा प्रशासनिक क्षेत्रमा हासिल गरेको अनुभवलाई प्रसौनी गाउँपालिकाको विकास र सेवा प्रवाहमा उपयोग गर्नुपर्नेमा उनीहरूले जोड दिए।
त्यसैगरी बिदाइ भएका प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको प्रसौनी गाउँपालिकामा बिताएको ९ महिना २३ दिनको कार्यकालको प्रशंसा गरिएको थियो। छोटो अवधिमै गाउँपालिकाको प्रशासनिक कामलाई व्यवस्थित बनाउन तथा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय कायम गर्दै सेवा प्रवाहमा योगदान पुर्‍याएको भन्दै वक्ताहरूले उनको कार्यशैलीको प्रशंसा गरे।
कार्यक्रममा सहभागीहरूले श्रीवास्तवको आगामी जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि सार्वजनिक सेवामा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। श्रीवास्तवको जिल्ला प्रशासन कार्यालय, पर्सामा सरुवा भएको हो।
नयाँ जिम्मेवारीका लागि बिदाइ हुँदै गरेका श्रीवास्तवले प्रसौनी गाउँपालिकामा कार्यरत रहँदा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी जिम्मेवारीमा पनि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, नवआगन्तुक प्रशासकीय अधिकृत केशरीले गाउँपालिकाको प्रशासनिक सेवा तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा वक्ताहरूले एउटै कार्यालयमा आउने र जाने कर्मचारीको नियमित प्रक्रिया भए पनि यसले संस्थागत अनुभवको निरन्तरता र नयाँ जिम्मेवारीसँगै थप सुधारको अवसर सिर्जना गर्ने धारणा राखेका थिए। गाउँपालिकाले नयाँ प्रशासकीय अधिकृतको आगमनसँगै प्रशासनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिकमैत्री बनाउने अपेक्षा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button