
पर्सा, असोज १५
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह कर्मचारी प्रशासन शाखाको २०८३ भदौ २९ गतेको निर्णयअनुसार रौतहटको ईशनाथ नगरपालिकाबाट सरुवा भई पर्साको पटेर्वा सुगौली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा महम्मद नवराज हुसैनले बिहीबार पदबहाली गरेका छन्।
गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हुसैनलाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले भव्य रूपमा स्वागत गरेका हुन्। कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले हुसैनको सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन उनको अनुभव र कार्यक्षमता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत हुसैनले गाउँपालिकाको प्रशासनिक कामलाई व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउँदै स्थानीय सरकारबाट नागरिकले पाउने सेवा सहज र छिटो उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए। उनले जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, स्थानीय नागरिक तथा सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गरी गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
हुसैनले कार्यालयमा कार्यरत कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी इमानदारी, अनुशासन र जवाफदेहिताका साथ निर्वाह गर्न आग्रह गर्दै सेवाग्राहीका समस्या र गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए। स्थानीय तहमा कर्मचारी प्रशासन, आर्थिक अनुशासन, योजना कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
गाउँपालिकाका जनप्रतिनिधिहरूले हुसैनको प्रशासनिक अनुभव र कार्यक्षमताबाट पटेर्वा सुगौली गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणका काममा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्। नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै गाउँपालिकाको प्रशासनिक गतिविधिले थप गति लिने तथा नागरिकले प्रभावकारी सेवा पाउने विश्वास उनीहरूले व्यक्त गरे।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो। नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हुसैनले पदभार ग्रहण गरेसँगै गाउँपालिकाका नियमित प्रशासनिक तथा विकाससम्बन्धी कामलाई निरन्तरता दिइने बताइएको छ।



