
बारा, ०९ मंसिर
बाराको मटिअर्वा सीमावर्ती नाकामा तस्करीको सामान नियन्त्रण गर्न खोज्दा तस्करीमा संलग्न समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा प्रस्तावित गुल्म मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिनोद श्रेष्ठसहित केही सशस्त्र प्रहरी घाइते भएका छन्। घटनामा सशस्त्र प्रहरीको पोशाकसमेत च्यातिएको स्थानीयले बताएका छन्।
भारतबाट भन्सार छली सामान ल्याउँदै गरेको एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा तस्करीमा संलग्न पक्षले स्थानीयको ठूलो समूह जुटाएर सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोप छ। स्थानीयका अनुसार घटनास्थलमा उग्र बनेको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै हातपातसमेत गरेको थियो।
घटनाबारे सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालले एक जना तस्कर भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा ५० देखि ६० जनाको समूह जम्मा भएर होहल्ला गर्दै ढुङ्गामुढा गरेको बताए। उनका अनुसार ढुङ्गामुढाका कारण डीएसपी श्रेष्ठसहित केही सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्।
तस्करी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीमाथि समूहगत आक्रमण हुनु सीमा सुरक्षा र कानुनी शासनमाथिको चुनौती हो।
सीमाबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीलाई भीडको आडमा दबाब, अवरोध र आक्रमण गर्ने प्रवृत्तिले सीमा क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ। तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीमाथि नै आक्रमण हुने घटनाले अवैध कारोबारमा संलग्न समूहको मनोबल बढ्ने र सीमा सुरक्षा अभियान कमजोर हुने जोखिम देखिएको छ।
मटिअर्वा नाकामा भएको घटनालाई सामान्य विवादका रूपमा मात्रै सीमित नगरी आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान, कानुनी कारबाही तथा सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिएको छ। सुरक्षाकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायले कडा कदम चाल्नुपर्ने माग उठ्न थालेको छ।



