
बारा, १० मंसिर
बाराको सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको विषयमा निरन्तर समाचार प्रकाशित हुँदै आएपछि जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरूको जिम्मेवारी फेरबदल गरेको छ। लामो समयदेखि एउटै प्रहरी इकाइमा कार्यरत इन्चार्जहरूको कार्यकाल र सीमामा भइरहेको अवैध कारोबार नियन्त्रणबारे प्रश्न उठिरहेका बेला प्रहरी कार्यालयबाट नयाँ खटाइसम्बन्धी सूची जारी भएको हो।
जिल्लाका सीमावर्ती तथा संवेदनशील क्षेत्रका प्रहरी चौकी र इलाका प्रहरी कार्यालयका इन्चार्जहरू साढे सात महिनाभन्दा बढी समयदेखि एउटै जिम्मेवारीमा कार्यरत रहेको विषय सार्वजनिक सञ्चारमाध्यममा उठ्दै आएको थियो। विशेषगरी इलाका प्रहरी कार्यालय अमलेखगंज, प्रहरी चौकी पथलैया, इलाका प्रहरी कार्यालय जीतपुर, प्रहरी चौकी मटिअर्वा तथा प्रहरी चौकी बसतपुरलगायतका इकाइमा लामो समयदेखि कार्यरत प्रहरी नेतृत्वको जिम्मेवारी परिवर्तनबारे चासो बढेको थियो।
तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका प्रहरी इकाइहरू लामो समय एउटै नेतृत्वमा रहँदा सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा प्रहरीको निगरानी, कार्यसम्पादन र व्यवस्थापन कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठाइएको थियो। विभिन्न समयमा सीमाबाट तस्करी भइरहेको विषय समाचारमार्फत सार्वजनिक भइरहे पनि सम्बन्धित इकाइहरूको जिम्मेवारी परिवर्तन नहुँदा जिल्ला प्रहरी नेतृत्वको कार्यशैलीमाथि समेत आलोचना हुन थालेको थियो।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेसँग प्रतिक्रिया लिँदा उनले प्रहरी इन्चार्जहरूको सरुवा आफूले नभई प्रहरी उपरीक्षकले गर्ने भन्दै प्रतिक्रिया दिएका थिए। उनको उक्त प्रतिक्रियाले सरुवा गर्ने अधिकारको तह स्पष्ट गरे पनि जिल्लामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका इकाइहरूको व्यवस्थापन, निगरानी र लामो कार्यकालबारे उठेका प्रश्नको जवाफ भने दिएको थिएन।
समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी कर्मचारीहरूको जिम्मेवारी फेरबदलसम्बन्धी सूची जारी भएको छ। उक्त सूचीमा विभिन्न प्रहरी इकाइ, शाखा तथा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको उल्लेख छ। प्रहरी कार्यालयबाट जारी सूचीअनुसार जिल्लाभित्रका विभिन्न इलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा अन्य शाखामा कर्मचारीहरूको खटाइ परिवर्तन गरिएको छ।
जिम्मेवारी फेरबदलको निर्णय प्रहरी व्यवस्थापनमा आएको परिवर्तन भए पनि यसको वास्तविक प्रभाव सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा देखिनुपर्ने अपेक्षा गरिएको छ।
सीमावर्ती क्षेत्रमा प्रहरी परिचालन र जिम्मेवारी परिवर्तन सुरक्षा व्यवस्थापनको नियमित प्रक्रिया भए पनि तस्करी नियन्त्रणको विषयमा उठेका प्रश्नलाई केवल सरुवामै सीमित राखेर समाधान गर्न सकिँदैन। प्रहरी इकाइहरूको नियमित अनुगमन, कार्यसम्पादन मूल्याङ्कन, अवैध कारोबार नियन्त्रणमा निष्पक्षता र जिम्मेवारीप्रति जवाफदेहिता सुनिश्चित गर्नु जिल्ला प्रहरी नेतृत्वको प्रमुख दायित्व हो।
अब नयाँ जिम्मेवारीमा खटिएका प्रहरी अधिकारीहरूले सीमावर्ती क्षेत्रबाट हुने तस्करी तथा अवैध कारोबार नियन्त्रणमा कस्तो भूमिका निर्वाह गर्छन् र जिल्ला प्रहरी नेतृत्वले उनीहरूको कार्यसम्पादनमाथि कस्तो निगरानी राख्छ भन्ने विषय स्थानीय नागरिक तथा सञ्चारमाध्यमको चासोमा रहनेछ।



