
बारा, १० मंसिर
बाराको फेटा गाउँपालिकामा कर्मचारी व्यवस्थापन र प्रशासनिक अनुशासन कायम गर्ने भन्दै सूचना जारी भइरहेका बेला शिक्षा शाखामा भने शिक्षकको जिम्मेवारी, काज फिर्ता आदेशको कार्यान्वयन र राजनीतिक–पारिवारिक पहुँचको प्रभावलाई लिएर गम्भीर प्रश्न उठेका छन्। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीसँग पारिवारिक सम्बन्ध रहेका शिक्षक अनसारुल मिया अन्सारी विद्यालयको जिम्मेवारीभन्दा गाउँपालिकामा बढी सक्रिय रहेर बिचौलियाको भूमिका निर्वाह गरिरहेको आरोपले पालिकाको प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको छ।
फेटा गाउँपालिका–३ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्राविधिक धार तथा कम्प्युटर इन्जिनियरिङमा कार्यरत शिक्षक अनसारुल मिया अन्सारीलाई विद्यालयमा फर्काउने प्रशासनिक आदेश जारी भएको विवरण सार्वजनिक भए पनि उक्त आदेश व्यवहारमा कार्यान्वयन भए–नभएको विषय विवादित बनेको छ। प्राप्त पत्रअनुसार २०८२ चैत २६ गते चलानी नम्बर १५८५ मार्फत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले शिक्षकलाई काज फिर्ता गरी विद्यालयमा पठाउने निर्णय गरेका थिए।
तर काज फिर्ताको पत्र जारी भएको भनिए पनि शिक्षक पालिकामै रहेर विभिन्न कामकाजमा संलग्न भएको आरोप उठेपछि प्रशासनिक आदेशको प्रभावकारितामाथि प्रश्न खडा भएको छ। विद्यालयमा शिक्षण जिम्मेवारी निर्वाह गर्नुपर्ने शिक्षक पालिकाको कार्यालयमा किन र कुन अधिकारअन्तर्गत सक्रिय रहनुभएको हो भन्ने विषयमा स्पष्टता आवश्यक देखिएको छ।
स्थानीयस्तरमा अध्यक्ष रुस्तम अन्सारीसँग शिक्षकको पारिवारिक सम्बन्ध रहेको र सोही पहुँचका कारण प्रशासनिक निर्देशन कार्यान्वयनमा कमजोरी भएको आरोपसमेत उठिरहेको छ।
हालका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले शिक्षकलाई काज फिर्ता भएको विद्यालयमा जान पटकपटक आग्रह गरिएको तर निर्देशन पालना नभएको स्वीकार गरेको बताइएको छ। अध्यक्षसँग पारिवारिक सम्बन्धका कारण आफूलाई समेत दबाब आउने गरेको उल्लेख गर्दै अब उप्रान्त विद्यालयमा हाजिर नभएसम्म पालिकामा हाजिर नगराउने प्रतिबद्धता व्यक्त गरेको स्रोतको भनाइ छ। तर निर्देशन पालना नभएको अवस्थालाई प्रशासनले कति समयसम्म सहन गर्यो र जिम्मेवारी उल्लंघनमाथि ठोस कारबाही किन भएन भन्ने प्रश्न अनुत्तरित छ।
यसैबीच, फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले कर्मचारी व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अघि बढाउने भन्दै औपचारिक सूचना जारी गरेका छन्। दैनिक ज्यालादारी, करार अवधि समाप्त भएका तथा विधिवत् नियुक्ति प्रक्रिया पूरा नभएका कर्मचारीको कामकाज र अभिलेख व्यवस्थापनलाई व्यवस्थित गर्न गाउँपालिकाले निर्देशन दिएको छ।
सूचनामार्फत करार अवधि नवीकरण नभएका कर्मचारीलाई कामकाजमा नखटाउन, विधिवत् नियुक्ति प्रक्रिया पूरा नभएका व्यक्तिलाई आधिकारिक निर्णयबिना जिम्मेवारी नदिन तथा कार्यरत कर्मचारीलाई नियुक्तिपत्र, करार सम्झौता, म्याद थप र पदस्थापनसम्बन्धी कागजात सात दिनभित्र प्रशासन शाखामा पेश गर्न भनिएको छ।
प्रशासनिक अभिलेख व्यवस्थित गर्ने र कानुनी प्रक्रियालाई प्राथमिकता दिने यो पहल सकारात्मक मानिए पनि गाउँपालिकाभित्र उठेका आरोपित घटनामा पनि समान मापदण्ड लागू हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न हो। करार, दैनिक ज्यालादारी र नियुक्ति प्रक्रियामा प्रशासन कठोर बन्ने तर काज फिर्ता आदेश पालना नगर्ने कर्मचारीको विषयमा मौनता रहने हो भने प्रशासनिक सुधारको सूचना नै व्यवहारिक जवाफदेहिताको परीक्षणमा कमजोर बन्न सक्छ।
शिक्षा शाखामा शिक्षकको जिम्मेवारी, कार्यालयमा उपस्थितिको आधार, काज फिर्ता आदेश कार्यान्वयन तथा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपबारे सम्बन्धित कागजात, हाजिरी अभिलेख र निर्णय प्रक्रियाको छानबिन आवश्यक देखिएको छ। सार्वजनिक पद र जिम्मेवारी पारिवारिक पहुँचका आधारमा प्रभावित भएको हो भने त्यसले गाउँपालिकाको संस्थागत प्रशासन, विद्यालयको शैक्षिक वातावरण र सार्वजनिक विश्वासमा प्रत्यक्ष असर पार्न सक्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्बन्धित शिक्षा प्रशासन तथा अन्य निगरानी निकायले आरोपको तथ्यगत परीक्षण गर्ने, प्रशासनिक आदेश कार्यान्वयनको अवस्था बुझ्ने र जिम्मेवारी उल्लंघन भएको पाइएमा कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउने अपेक्षा गरिएको छ।
फेटा गाउँपालिकामा प्रशासनिक अनुशासनको सूचना जारी हुनु सुधारको संकेत हो, तर सुधारको वास्तविक परीक्षा सूचना जारी गर्नुमा होइन, आफ्ना र अरूका लागि समान रूपमा नियम लागू गर्न सक्नुमा छ।



