मधेशसमाचार

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको माग गर्दै बारा, पर्सा र रौतहटका पत्रकार सडकमा

बारा , १० मंसिर
सरकारको मिडियाप्रतिको व्यवहार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप, पत्रकारको पेसागत असुरक्षा र श्रम अधिकारको बेवास्ताविरुद्ध मधेश प्रदेशका बारा, पर्सा र रौतहटका पत्रकारहरू एकैदिन सडकमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी चरणबद्ध आन्दोलनअन्तर्गत तीनै जिल्लाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन तथा धर्ना दिँदै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने व्यङ्ग्यात्मक नारासहित गरिएको प्रदर्शनले पत्रकारमाथि हुने धरपकड, समाचार कक्षमा प्रहरी हस्तक्षेप, समाचार स्रोत खुलाउन दबाब, सञ्चारमाध्यममाथि आर्थिक तथा कानुनी घेराबन्दी र श्रमजीवी पत्रकारको अधिकार हननविरुद्ध देशभर पत्रकार समुदाय एकजुट भएको सन्देश दिएको छ।
रौतहटमा नेपाल पत्रकार महासंघ शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्कीको नेतृत्वमा गौरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरिएको थियो। जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागितामा भएको प्रदर्शनमा पत्रकारिता क्षेत्रमाथि बढ्दो सरकारी हस्तक्षेप र सञ्चारमाध्यमलाई कमजोर बनाउने नीतिको विरोध गरिएको थियो। समाचार संकलन तथा सम्प्रेषणका क्रममा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड तथा गिरफ्तारी गर्ने प्रवृत्ति बढेको भन्दै महासंघले त्यसलाई तत्काल रोक्न माग गरेको छ।
त्यस्तै, पर्सामा नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा बिहान ११ः३० बजे जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गरिएको थियो। जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले ब्यानर तथा नारामार्फत सरकारको मिडियाप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पत्रकारिता क्षेत्रको स्वतन्त्रता, पेसागत सुरक्षा र अधिकारको पक्षमा आवाज उठाएका थिए।
बारामा पनि नेपाल पत्रकार महासंघ शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शनसहित धर्ना दिएको थियो। महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्य तथा शाखा अध्यक्ष रमेश सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मी सहभागी भएका थिए। प्रदर्शनमा ‘धरपकड बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘मिडिया हाउसमा प्रहरी प्रवेश बन्द गर’ तथा ‘सामूहिक गिरफ्तारी गर’ लगायतका नाराहरू लगाइएको थियो।
बाराको विरोध कार्यक्रममा वरिष्ठ पत्रकार गोकुल घोरसाईने, सत्यप्रकाश श्रेष्ठ, प्रेस चौतारी बाराका अध्यक्ष थानेश्वर सापकोटा, फोटो पत्रकार जितलाल श्रेष्ठ, पवन यादव, संजय तिवारीलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघ बाराका सचिव पुष्पराज खतिवडाले गरेका थिए भने स्वागत मन्तव्य नरेश गुप्ताले राखेका थिए।
महासंघले सञ्चारमाध्यमको प्रवेशद्वार तथा आवागमन अवरुद्ध हुने गरी सवारीसाधन राख्ने गतिविधि, समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गर्ने कार्य, समाचार लेखेकै आधारमा पक्राउ गर्ने तथा साइबर ब्युरोलगायतका निकायबाट अनावश्यक दबाब सिर्जना गर्ने प्रवृत्तिको विरोध गरेको छ। पत्रकारसँग समाचारको स्रोत खुलाउन दबाब दिने कार्य बन्द गर्नुपर्ने माग पनि आन्दोलनको प्रमुख विषय बनेको छ।
त्यसैगरी, प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार पत्रपत्रिकाले नियमानुसार पाउनुपर्ने लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा ढिलाइ, सरकारी र निजी सञ्चारमाध्यमबाट श्रमजीवी पत्रकारलाई जबर्जस्ती निष्कासन गर्ने, नियमित पारिश्रमिक नदिने तथा श्रम ऐनविपरीतका गतिविधि रोक्न महासंघले माग गरेको छ। विज्ञापन रोक्ने, बजेट कटौती गर्ने तथा कानुनी र आर्थिक दबाबमार्फत स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने कार्यलाई महासंघले आर्थिक घेराबन्दीको संज्ञा दिएको छ।
सरोकारवाला निकायसँग पर्याप्त परामर्श नगरी ल्याइएको प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशले प्रेस स्वतन्त्रता संकुचित पार्न सक्ने भन्दै नेपाल पत्रकार महासंघले उक्त अध्यादेश फिर्ता लिन र सञ्चारसम्बन्धी कानुन संसद्को विधायिकी प्रक्रियाबाट निर्माण गर्न माग गर्दै आएको छ। सञ्चारमाध्यम तथा पत्रकारमाथि सरकारी निर्देशन, नियन्त्रण र हस्तक्षेप बढ्दै गएको महासंघको आरोप छ।
महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालसँग छलफल गर्ने तथा मंसिर ७ गते जिल्ला शाखाहरूले सञ्चारसम्बद्ध संघसंस्थासँग अन्तर्क्रिया गर्ने कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। सोही चरणबद्ध आन्दोलनको अन्तिम कार्यक्रमअन्तर्गत बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन तथा धर्ना गरिएको हो।
बारा, पर्सा र रौतहटका पत्रकारहरूको एकैदिन भएको विरोध प्रदर्शनले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा, श्रम अधिकार र स्वतन्त्र सञ्चारमाध्यमको अस्तित्वको विषयलाई स्थानीय स्तरबाट राष्ट्रिय बहसमा उठाएको छ। पत्रकारिता लोकतन्त्रको पहरेदार भएको भन्दै महासंघले राज्यले प्रेसमाथि दबाब, धरपकड र आर्थिक घेराबन्दी गर्ने प्रवृत्ति तत्काल बन्द गर्नुपर्नेमा जोड दिएको छ।
महासंघले आफ्ना मागप्रति सरकार गम्भीर नभए आगामी दिनमा अझ कडा र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button