
उपेन्द्र पासवान
बारा, ०९ मंसिर
बाराको कलैया उपमहानगरपालिकामा भूमि प्रशासन कार्यालयको शाखा औपचारिक रूपमा उद्घाटन गरिएको छ।
शाखा सञ्चालनमा आएसँगै अब जग्गासम्बन्धी विभिन्न प्रशासनिक सेवा स्थानीय तहमै उपलब्ध हुने भएका छन्। यसबाट जग्गासम्बन्धी कामका लागि सदरमुकामस्थित कार्यालय धाउनुपर्ने सेवाग्राहीको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो। नगर प्रमुख साहकै अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेल, जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई तथा नगर उपप्रमुख रोशन प्रविन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा भूमि प्रशासन कार्यालय, बारा कलैयाका कार्यालय प्रमुख शालिकराम ढकाल, वडा अध्यक्ष धर्मेन्द्र यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाल लेखापढी व्यवसायी एसोसिएसन जिल्ला समन्वय समितिका अध्यक्ष पन्नालाल कुशवाहा, नेपाल लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति, बारा कलैयाका अध्यक्ष बृजकिशोर यादव (भगतजी), लेखापढी व्यवसायी, कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा सहभागी अतिथिहरूले स्थानीय तहमै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्दै यसले सेवाग्राहीको समय, श्रम र आर्थिक खर्च बचत गर्ने विश्वास व्यक्त गरेका थिए।
नयाँ शाखाबाट जग्गासम्बन्धी राजीनामा, बकसपत्र, दाखिल खारेज, अंशबण्डा, कित्ताकाट, नामसारीलगायतका भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह हुने जनाइएको छ। यस व्यवस्थाले स्थानीय नागरिकलाई जग्गासम्बन्धी सामान्य प्रशासनिक कामका लागि टाढाको कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद साहले भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहलाई पारदर्शी, छिटोछरितो र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सेवाग्राहीलाई अनावश्यक दुःख दिने, काममा ढिलासुस्ती गर्ने वा कर्मचारी तथा लेखापढी व्यवसायीबाट भ्रष्टाचार भएको गुनासो प्राप्त भएमा तत्काल छानबिन गरी आवश्यक कारबाही गरिने स्पष्ट पार्नुभयो।
स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने यो पहलले नागरिकलाई सहज रूपमा सेवा प्राप्त गर्न मद्दत पुग्ने तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने विश्वास गरिएको छ।



