
बारा, ०९ मंसिर
फेटा गाउँपालिकामा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतले सक्रियता देखाएका छन्। गाउँ कार्यपालिकाको कार्यालयले दैनिक ज्यालादारी, करार अवधि समाप्त भएका तथा विधिवत् नियुक्ति प्रक्रिया पूरा नभएका कर्मचारीको कामकाज र अभिलेख व्यवस्थापनबारे औपचारिक सूचना जारी गर्दै प्रशासनिक अनुशासन कायम गर्ने प्रयास गरेको छ।
गाउँपालिकाको सूचनामार्फत करार अवधि नवीकरण नभएका कर्मचारीलाई कामकाजमा नखटाउन, विधिवत् नियुक्ति प्रक्रिया पूरा नभएका व्यक्तिलाई आधिकारिक निर्णयबिना जिम्मेवारी नदिन तथा कार्यरत कर्मचारीले नियुक्तिपत्र, करार सम्झौता, म्याद थप र पदस्थापनसम्बन्धी कागजात सात दिनभित्र प्रशासन शाखामा पेश गर्न निर्देशन दिइएको छ।
कर्मचारी व्यवस्थापनलाई नियम, कानुन र आधिकारिक अभिलेखमा आधारित बनाउने यस्तो पहललाई स्थानीय प्रशासनमा अनुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यासका रूपमा हेरिएको छ। प्रमुख प्रशासकीय अधिकृतको यो कदमले गाउँपालिकाको प्रशासनिक कामकाजलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



