मधेशसमाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै देवतालमा मैनबत्ती प्रज्वलन

उपेन्द्र पासवान

बारा, २२ भदौ

रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन बाराको देवताल गाउँपालिकामा मैनबत्ती प्रज्वलन तथा मौनधारण कार्यक्रम गरिएको छ।
देवताल गाउँपालिका–स्थित पिप्राढी बेनौली चोकमा सोमबार साँझ आयोजित कार्यक्रममा स्थानीयवासी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले मैनबत्ती बाल्दै विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए।
कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो। साथै, विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकलाई राहत, उद्धार तथा सहयोगका लागि सबै पक्ष एकजुट हुन आह्वान गरिएको थियो।
कार्यक्रमका आयोजक युवा नेता रामचन्द्र चौधरीले विपद्का बेला पीडितको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको बताए। राजनीतिक तथा सामाजिक विभेदभन्दा माथि उठेर पीडितको उद्धार, राहत र पुनःस्थापनामा एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए।
मैनबत्ती प्रज्वलनमार्फत विपद्मा ज्यान गुमाएकाप्रति सम्मान तथा प्रभावित परिवारको पीडामा ऐक्यबद्धता जनाइएको आयोजकले जनाएको छ। चौधरीले स्थानीयस्तरबाट समेत विपद् प्रभावितका लागि सहयोग र मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
“विपद्को घडीमा एकता, सहयोग र मानवीयताको हातेमालो गरौँ” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button