
बारा , २४ भदौ
ई–रिक्साको अव्यवस्थित सञ्चालनले सार्वजनिक यातायात व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै सम्पूर्ण यातायात व्यवसायी संघ, बाराले बुधबार कलैयाको भरत चोकमा विरोध प्रदर्शन गरेको छ।
ई–रिक्सा सञ्चालनमा प्रभावकारी नियमन र व्यवस्थापन नभएको भन्दै व्यवसायीहरूले तोकिएको क्षेत्रभित्र मात्र सञ्चालनको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्।
व्यवसायीहरूका अनुसार नगर क्षेत्रमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि ठूलो संख्यामा ई–रिक्सा दैनिक रूपमा कलैया–वीरगञ्ज सडकखण्डमा सञ्चालन भइरहेका छन्। यसबाट आफूहरूले सञ्चालन गर्दै आएका सार्वजनिक यातायातका साधनको व्यवसाय प्रभावित भएको उनीहरूको गुनासो छ।
ई–रिक्साको बढ्दो र अव्यवस्थित सञ्चालनका कारण यातायात व्यवसायी आर्थिक समस्यामा पर्दै गएको उनीहरूले बताएका छन्। कानुनी व्यवस्था कार्यान्वयन तथा अनुगमनको जिम्मेवारी पाएका निकायले प्रभावकारी रूपमा नियमन नगरेको आरोपसमेत व्यवसायीहरूले लगाएका छन्।
प्रदर्शनमा सहभागी व्यवसायीहरूले विद्यमान कानुनी तथा स्थानीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन, तोकिएको क्षेत्रभन्दा बाहिर सञ्चालन भइरहेका ई–रिक्सा नियन्त्रण तथा यातायात क्षेत्रमा देखिएको अव्यवस्था अन्त्य गर्न माग गरेका छन्।
व्यवसायीहरूले माग सम्बोधनमा सम्बन्धित निकाय गम्भीर नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। सार्वजनिक यातायातलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन सबै प्रकारका सवारीसाधनको सञ्चालन स्पष्ट मापदण्डका आधारमा नियमन गर्नुपर्ने उनीहरूको माग छ।



