
रौतहट, २४ भदौ
नेपाल विश्वकर्मा लोहार संघले विश्वकर्मा पूजा पर्वका अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन माग गरेको छ। संघले असोज १ गते मनाइने विश्वकर्मा पूजालाई प्रदेशस्तरीय सार्वजनिक बिदाका रूपमा घोषणा गर्न माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष ज्ञापनपत्र बुझाएको हो।
संघका अध्यक्ष विवेक शर्माको नेतृत्वमा सचिव रामलाल ठाकुर, सहसचिव रामईश्वर ठाकुर, सल्लाहकार नथुनी ठाकुर र रामएकवाल ठाकुरलगायतको टोलीले मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा विश्वकर्मा पूजा श्रम, सीप, कला, औजार, प्रविधि, निर्माण तथा सिर्जनशीलताको सम्मान गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको उल्लेख गरिएको छ। धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई दिव्य शिल्पकार तथा निर्माण र प्रविधिका प्रतीकका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहेको संघले जनाएको छ।
विश्वकर्मा पूजा कुनै एक जाति वा समुदायमा मात्र सीमित नभई विभिन्न पेसा र व्यवसायमा आबद्ध समुदायको साझा पर्व बनेको संघको भनाइ छ। लोहार, विश्वकर्मा, किसान, मिस्त्री, प्राविधिक, चालक, उद्योगी, व्यवसायी तथा निर्माणकर्मीले आफ्ना औजार, मेसिन, सवारीसाधन, कलकारखाना र कार्यस्थलमा पूजा गर्दै आएको संघले जनाएको छ।
असोज १ गते सामूहिक पूजा–आराधना, सांस्कृतिक कार्यक्रम तथा सामाजिक गतिविधि आयोजना हुने भएकाले पर्वलाई व्यवस्थित र सम्मानपूर्वक मनाउन सार्वजनिक बिदा आवश्यक रहेको संघले तर्क गरेको छ।
संघले प्रत्येक वर्ष असोज १ गतेलाई ‘विश्वकर्मा पूजा’का अवसरमा मधेस प्रदेशभर लागू हुने स्थायी प्रदेशस्तरीय सार्वजनिक बिदाका रूपमा घोषणा गरी आधिकारिक बिदा सूचीमा समावेश गर्न माग गरेको छ।
विश्वकर्मा पूजामा बिदा दिने निर्णयले श्रमको सम्मान, सीपको गौरव, सांस्कृतिक परम्पराको संरक्षण र सामाजिक एकताको भावनालाई थप मजबुत बनाउने विश्वाससमेत संघले व्यक्त गरेको छ।



