मधेशसमाचार

खानेपानी डिभिजन कलैयामा २३ वटा ठेक्का हेरफेर प्रकरण : अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर

बारा , ३० कार्तिक

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैयामा आयोजना गरिएका २३ वटा निर्माण तथा मर्मत कार्यका टेन्डर प्रक्रियामा व्यापक अनियमितता र मिलेमतो भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संलग्न कर्मचारी र व्यवसायीहरूमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७९/८० का लागि तय गरिएका योजनाहरू अन्तर्गत २३ वटा बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्ने प्रावधान छ। तर डिभिजन कार्यालयका तत्कालीन निमित्त प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदीप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.का प्रबन्धक निशान्त बस्नेत र प्रभाव दैनिकका प्रबन्धक सन्तोषराज खरेलबीच मिलेमतो गरी सूचना रोकिएको, नक्कली प्रकाशन मिति देखाई ठेक्का प्रक्रियामा हेरफेर भएको अख्तियारको अनुसन्धानमा पुष्टि भएको छ।

अख्तियारका अनुसार, प्रभाव दैनिकमा २०७९ माघ २१ गते टेन्डर सूचना प्रकाशित भएको भनी कार्यालयले दाबी गरे पनि, सोही मितिको पत्रिकामा कुनै पनि पृष्ठमा टेन्डर सूचना नभेटिएको छ। सूचना रोकिराखी ठेक्का प्रक्रियालाई मनपरी ढंगले अघि बढाइएको ठहरसमेत गराइएको छ।

अनियमिततामा संलग्न समूहद्वारा रु. तिन लाख १६ हजार ५७० बराबरको आर्थिक हानि गर्ने प्रयत्न भएको र सोही रकम असूल उपर गर्नुपर्ने माग सहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१)(ङ) तथा दफा २२ अनुसार कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सार्वजनिक पदमा बसेका व्यक्तिद्वारा गरिने सूचना हेरफेर, कागजात नक्कली बनाउनेजस्ता कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारका विरुद्ध कडा रूपमा अघि बढ्ने बताउनुभएको छ।

यो प्रकरण सरकारी खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहिताका विषयमा समेत गम्भीर प्रश्न खडा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button