शु. आ. सम्बाददाता
रौतहट , ०६ असोज
दुर्गा भगवती गाउँपालिकाको ईतिहासमा निति , बजेट तथा कार्यक्रम सार्वजनिकरण सभा सम्पन्न पहिलो पटक भएको छ।
स्थानीय तहले अषाढ १० गते भित्र निति तथा कार्यक्रम प्रस्तुत गर्ने कानुनी प्रावधान रहेकोमा दुर्गा भगवती गाउँपालिकाले निश्चित समयमा मिति तथा कार्यक्रमको खुल्ला सत्र सम्पन्न गरेको थियो। तर जनप्रतिनिधिहरु आपसी बिवादले बन्द सत्र हुन नसकेको हुनाले प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको कुशल प्रशासकियले आईतबार निति , बजेट तथा कार्यक्रम सार्वजनिकरण सभा सम्पन्न भएको छ।
यसरी निति, बजेट तथा कार्यक्रम सार्वजनिकरण सभा दुर्गा भगवती गाउँपालिकामा यस भन्दा पहिला नभएकोले गाउँपालिकाको ईतिहासमा नै यो पहिलो पटक भएको स्थानियहरुले बताएका छन्।
दुर्गा भगवती गाउँपालिकाले नवौं गाउँसभामा चालु आर्थिक वर्ष २०८२/०८३ मा दुर्गा ४३ करोड ६१ लाख २६ हजार १७ रुपैयाँ १७ पैसा बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले जानकारी दिएका छन् ।
आइतबार प्रस्तुत नीति, कार्यक्रम तथा बजेट सार्वजनिककरण कार्यक्रममा मुख्यतया गाउँपालिकलाई धुवाँ मुक्त बनाउने , सुख्खाग्रस्तका कारण सिंचाई तथा खानेपानीको समस्या समाधानको लागि बोरिङ्ग ,हैण्डपाइप जडान लगायतका कार्य मुख्य प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जनाए ।
यस अघि नै गाउँपालिकाको वडा नं. १ ,२ र ५ मा ग्यास चुल्हो वितरण भएको तथा वडा नं. ४ र ५ मा बाँकी रहेकोले दुइ वटा वडामा चालु आर्थिक बर्षमा ग्यास चुल्हो वितरण गरिने भएको छ।
वडा नं. ३ मा कृषि विद्युतीकरण,स्वच्छ खानेपानी ,छोरी संरक्षण लगायतका कार्यकम प्राथमिकतामा राखिएको उनले बताए।
५ वटै वडाका लागि प्रति वडा ३० लाखका दरले बजेट उपलब्ध गराइएको ३ नं. वडाका वडा अध्यक्ष झाले जानकारी दिए।
चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिककरण भए संगै दशैं अघि नै कर्मचारी , शिक्षकको २०८२ साउन भदौको तलव तथा दशैं खर्च उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिए ।
आर्थिक बर्ष शुरु हुनु अगाबै असार १० गते भित्र बजेट ल्याई सक्नु पर्नेमा जनप्रतिनिधि बीच कुरा नमिल्दा तीन महिना ढिलो गरि दुर्गाभगवती गाउँपालिकाले बजेट ल्याएको हो ।