छठको राैनक शुरु, मधेसमा गोवर्द्धन पूजासँगै संकल्प

रौतहट , ०६ कार्तिक

लोक आस्थाको महापर्व छठको रौनक मधेस प्रदेशमा सुरु भएको छ। छठ पूजाको संकल्प गर्दै व्रतालुहरूले बिहीबार बिहान गोवर्द्धन पूजा गरेकी छीन् । सूर्यदेव र छठी माताको कठोर व्रत तथा आराधना गरिने यस पर्वको प्रारम्भसँगै मधेसको जनजीवनमा छुट्टै उत्साह छाएको हो ।

छठ पर्वको प्रारम्भको रूपमा लिइने गोवर्द्धन पूजा सामान्यतया सूर्योदय पूर्व नै सम्पन्न गर्नुपर्ने चलन रहे पनि केही ठाउँमा तिथिको कारणले गर्दा बिहीबार सूर्योदयपछि यो पूजा गरिएको व्रतालुहरूले बताएकी छीन्। छठ पूजा गर्ने व्रतालुले अनिवार्य रूपमा गोवर्द्धन पूजा गर्ने चलन रहेको हो ।

बिहीबार बिहान व्रतालुहरूले गाई र गोरुको गोठमा जम्मा भएको गोबरलाई गोवर्द्धन भगवानको प्रतिक बनाएर गाउँको कुनै चौबाटोमा भेला भई सामूहिक पूजा गरेकी थिईन । यस पूजालाई स्थानीय बोलीचालीको भाषामा ‘गोधन कुटाइ’ पनि भनिन्छ। गोवर्द्धन पहाडको प्रतीक बनाएपछि त्यहाँ केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाइ आदिको प्रयोग गरी पूजा गरिन्छ।

सामूहिक पूजापछि व्रतालु महिलाहरूले हलोको जुवाले माटोको हाँडीलाई फुटाउँछन् र दिदी-बहिनीले दाजु-भाइको लामो आयुको कामना गर्दै गीत गाउँछीन्, जसलाई स्थानीय बज्जिका भाषामा ‘सरापेको’ भनिन्छ। हाँडी फुटाएपछि गोबरमा चढाइएका विभिन्न सामग्रीहरूलाई प्रसाद स्वरूप बाँडिन्छ र दाजु-भाइले अनिवार्य रूपमा कपासमा मुछेर खाने चलन रहेको व्रतालुहरू बताउँछीन्।

गोवर्द्धन पूजासँगै छठ पर्वको विधिवत् सुरुआत भएको मानिन्छ। गोधन कुटाइ सम्पन्न भएपछि व्रतालुहरूले छठ पर्वको मुख्य प्रसाद ठेकुवा र कसार पकाउने चुलो बनाउने तथा त्यसका लागि चाहिने धान र गहुँ सुकाउने काम सुरु गरेकी छीन्।

यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइन्छ। बिहिबारबाट सुरु भएको यस पर्वमा भोलि ‘नहाय-खाय’ विधि सम्पन्न गरी व्रतालुहरूले सात्विक भोजन ग्रहण गर्नेछीन्। यस पर्वमा शुद्धता र निष्ठालाई अत्यन्त महत्त्व दिइन्छ। छठी माताको आराधना गर्नाले मनोकामना पूरा हुने, सन्तान तथा धनलाभ हुने र आरोग्य प्राप्त हुने विश्वास गरिन्छ। छठले गर्दा अहिले मिथिला क्षेत्रका नदी, तलाउ र कुण्ड परिसरहरू सिँगारेर झकिझकाउ बनाइएको छ, भने टोल-टोलमा छठका पारंपरिक गीतहरू गुञ्जिरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *