मधेशसमाचार

बारागढीमा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

बारा , १७ पौष

बारागढी गाउँपालिका–स्थित श्री नेपाल जनता माध्यमिक विद्यालय, बुधगाइको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा S.E.E Awareness and Educational Seminar तथा व्यक्तित्व विकास कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष राज कुमार गुप्ताको अध्यक्षतामा भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बारागढी गाउँपालिकाका गाउँपालिका प्रमुख अशोक कुमार जैसवाल रहनुभएको थियो भने विशेष अतिथि लक्ष्मी राय रहनुभएको थियो।

कार्यक्रममा प्रशासकीय अधिकृत मुकेश मिश्र, शिक्षा शाखा प्रमुख जालमति, गाउँपालिकाका सबै वडाका अध्यक्षहरू, सबै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, सञ्चारकर्मीहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रशिक्षक तथा मोटिभेशनल वक्ताका रूपमा प्रदीप कुमार साह रहनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई एसईई परीक्षाको तयारी, समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्र अभ्यास, आत्मविश्वास अभिवृद्धि तथा मानसिक तनाव नियन्त्रणका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो।

प्रदीप कुमार साहले परीक्षा नजिकिँदै जाँदा नियमित र योजनाबद्ध अध्ययन, कठिन विषयमा विशेष ध्यान, साना–साना विश्रामसहित पढाइ गर्ने तरिका अपनाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। साथै उहाँले व्यक्तित्व विकासका विविध पक्षबारे समेत प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको प्रबन्धन तथा निर्देशन पुनम यादवले गर्नुभएको थियो भने उद्घोषण संस्थाकी सदस्य कुमकुम गुप्ताले गर्नुभएको थियो।

कार्यक्रमबाट विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास र योजनाबद्ध तयारीको विकास भएको सहभागीहरूले बताएका छन्। आयोजक संस्थाले यस्ता शैक्षिक तथा अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button