मधेशसमाचार

बैशाखमा बारामा १४१ अपराध दर्ता, १८३ घरेलु हिंसाका उजुरी

बारा, ०४ जेठ

जिल्ला प्रहरी कार्यालय बारा ले २०८३ साल वैशाख महिनामा सम्पन्न भएका सुरक्षा, अपराध अनुसन्धान तथा समुदाय केन्द्रित गतिविधिको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्कअनुसार वैशाख महिनाभर जिल्लाभर कुल १४१ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार ज्यान सम्बन्धी १, चोरी सम्बन्धी १३, सामाजिक अपराध ३, महिला तथा बालबालिका सम्बन्धी १० र अन्य १११ वटा मुद्दा दर्ता भएका छन्। जघन्य तथा गम्भीर अपराधतर्फ १९ वटा आर्थिक अपराध, १५ वटा जुवातास तथा अन्य गरी कुल ३६ वटा गम्भीर प्रकृतिका घटना दर्ता भएका छन्।

प्रहरीले चालु मुद्दामा फरार रहेका ८२ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ। यस्तै सार्वजनिक चासोका १ हजार २३२ पेन्डिङ मुद्दामध्ये ५४ वटा फछ्र्योट गरिएको विवरणमा उल्लेख छ। फैसला कार्यान्वयनअन्तर्गत ७५ जना पक्राउ परेका छन् भने उनीहरूबाट ८ वर्ष २८ महिना ९२ दिन कैद तथा ५ लाख २२ हजार ३ सय ७५ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

महिला तथा बालबालिका सम्बन्धी उजुरीको संख्या उल्लेख्य देखिएको छ। वैशाख महिनामा मात्रै १८३ वटा घरेलु तथा सामाजिक हिंसाका उजुरी परेका छन्। तीमध्ये १६१ वटा मिलापत्रमार्फत समाधान गरिएको छ। पीडितमध्ये अधिकांश १९ देखि ४० वर्ष उमेर समूहका रहेका छन्।

हराएका तथा फेला परेका व्यक्तिहरूको विवरणअनुसार ४३ जना हराएका थिए भने १६ जना फेला पारिएको प्रहरीले जनाएको छ। यस अवधिमा लागूऔषध सम्बन्धी ८ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीले ५३ किलो ६०४ ग्राम गाँजा, १ दशमलव ४५ ग्राम ब्राउन सुगर तथा ट्रामाडोल ट्याब्लेट बरामद गरेको जनाएको छ।

आत्महत्याका घटनामा पनि वृद्धि देखिएको छ। वैशाख महिनामा विष सेवन र झुण्डिएर गरी १३ जनाले आत्महत्या गरेका छन्। तीमध्ये १६ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू बढी रहेका छन्।

सवारी दुर्घटनातर्फ जिल्लाभर १५९ वटा दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २६४ जना घाइते भएका छन्। दुर्घटनामा चालकको लापरवाही मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ। ट्राफिक कारवाहीबाट १३ लाख ६ हजार १ रुपैयाँ राजस्व संकलन गरिएको छ।

राजश्व चुहावट तथा भन्सार छली नियन्त्रणअन्तर्गत प्रहरीले ४ लाख २३ हजार २७० रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ। यस्तै अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ३०० लिटर मदिरा बरामद गरिएको छ भने ४ वटा भाडा नष्ट गरिएको विवरणमा उल्लेख छ।

विपद् व्यवस्थापनतर्फ वैशाख महिनामा आगलागी, हावाहुरी, चट्याङ, करेन्ट लाग्ने तथा डुबान लगायत ४७ वटा घटना भएका छन्। ती घटनामा ४ जनाको मृत्यु तथा २ जना घाइते भएका छन्। घटनाबाट करिब ४९ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत प्रहरीले लागूऔषध, बालविवाह, महिला हिंसा, साइबर अपराध तथा ट्राफिक सचेतनासम्बन्धी १०४ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममा ३ हजार ५५० जना लाभान्वित भएको विवरणमा उल्लेख छ।

प्रहरीले अपराध न्यूनीकरणका लागि दिवा–रात्रि गस्ती, संयुक्त सुरक्षा परिचालन, सीसीटीभी निगरानी, ट्राफिक सचेतना कार्यक्रम तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button