
रौतहट , ०६ जेठ
जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ३ स्थित विद्यापतिनगरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शनि भगवान तथा बटुक भैरव मन्दिरको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। गौर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त मन्दिरको मंगलवार एक भव्य समारोहका बीच नगरप्रमुख शम्भु साहले विशेष धार्मिक विधिअनुसार शिलान्यास गरेका छन् ।
विद्यापति महादेव मन्दिरको प्राङ्गण अगाडि निर्माण हुन लागेको यस धार्मिक संरचनाले स्थानीय समुदायमा आध्यात्मिक वातावरण सुदृढ बनाउने र सांस्कृतिक संरक्षणमा टेवा पुऱ्याउने विश्वास लिइएको छ।
मन्दिर निर्माणका लागि गौर नगरपालिकाले प्रारम्भिक चरणमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भु साहले धार्मिक आस्थाको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।
विकास भनेको सडक र भवन निर्माण मात्र होइन समाजको धार्मिक र सांस्कृतिक भावनालाई सम्मान गर्नु पनि हो नगरप्रमुख साहले भन्ने नगरको पहिचान र धार्मिक सम्पदा जोगाउन हामी प्रतिबद्ध छौँ। विनियोजित बजेट अपुग भएमा नगरपालिकाले थप बजेटको व्यवस्थापन गर्नेछ।
उनले गौर नगरपालिकाले भौतिक पूर्वाधारसँगै सामाजिक सद्भाव र सांस्कृतिक पर्यटनलाई समेत समान प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
स्थानीय सक्रियता र सामाजिक पहल
यस धार्मिक परियोजनाको निर्माण कार्य स्थानीय समाजसेवी राघवेन्द्र झाको विशेष पहल तथा प्रत्यक्ष रेखदेखमा अगाडि बढाइएको छ। स्थानीय स्तरमा धार्मिक वातावरणलाई थप मजबुत बनाउन झासहितको टोलीले लामो समयदेखि पहल गर्दै आएको थियो। मन्दिर निर्माण सुरु भएपछि विद्यापतिनगरका स्थानीयवासीहरूमा उत्साह छाएको छ।
स्थानीय नागरिकहरूका अनुसार मन्दिर निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा धार्मिक गतिविधि बढ्नुका साथै दैनिक पूजा–आराधाना सहज हुनेछ। केही स्थानीय बुद्धिजीवीहरूले यस स्थललाई भविष्यमा धार्मिक पर्यटनको केन्द्रका रूपमा समेत विकास गर्न सकिने सम्भावना व्यक्त गरेका छन्। युवा पुस्तालाई आफ्नो धर्म र संस्कृतिसँग जोड्न यस्ता संरचनाले सकारात्मक भूमिका खेल्ने उनीहरूको बुझाइ छ।
वैदिक मन्त्रोच्चारणसहित सम्पन्न भएको उक्त शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सामाजिक सद्भाव र धार्मिक एकता कायम राख्न यस्ता सामूहिक अभियान फलदायी हुने धारणा राखेका थिए।
विद्यापतिनगर क्षेत्रमा लामो समयदेखि मन्दिरको आवश्यकता महसुस गरिएकोमा अब सो पुरा हुने भएपछि स्थानीयले नगरपालिका र सम्बन्धित पक्षलाई धन्यवाद दिएका छन्। मन्दिर निर्माण सम्पन्न भएपछि यो क्षेत्र गौर नगरपालिकाभित्रकै एक महत्त्वपूर्ण धार्मिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।



