मधेशसमाचार

ओभरटेक गर्ने क्रममा सिमरामा भीषण दुर्घटना, स्कुटर चालक किशोरको मृत्यु

बारा, १५ असार

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित एयरपोर्ट नजिक डुमरवाना–सिमरा भित्री सडक खण्डमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशामा गइरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो। ठक्करपछि स्कुटर अनियन्त्रित भई ट्याक्टरमुनि पसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएका थिए। उनको टाउको, छाती तथा मुखमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि सिमरास्थित सीटी स्टार अस्पतालबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा चिकित्सकले साँझ ६ः१५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

स्कुटरमा पछाडि सवार वीरगञ्ज–२ छपकैयाका १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन्। उनको नगर अस्पताल सिमरामा उपचारपछि डिस्चार्ज गरिएको र हाल इलाका प्रहरी कार्यालय सिमराको सम्पर्कमा रहेको बताइएको छ।

यस्तै मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारीको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई सीटी स्टार अस्पताल सिमरामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक जितपुर सिमरा उपमहानगरपालिका–४ औराहा निवासी ७० वर्षीय शिवराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक विदुर नेपालीको कमाण्डमा पाँच जना तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट सिमराबाट प्रहरी सहायक हवल्दार कमलेश साहको कमाण्डमा दुई जनाको टोली खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न स्कुटर, मोटरसाइकल, ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button