
सत्येन्द्र प्रताप सिंह
रौतहट १५ असार
सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ रौतहट जिल्लाका विभिन्न बेस क्याम्पहरूमा कार्यरत सशस्त्र प्रहरी बलका कर्मचारीहरूका लागि विशेष ट्राफिक सचेतना कक्षा तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूबाट खटिएका प्राविधिक एवं दक्ष ट्राफिक टोलीले सशस्त्र प्रहरी बलका अधिकारी तथा जवानहरूलाई लक्षित गरी उक्त प्रशिक्षण प्रदान गरेको हो। सडकमा अहोरात्र खटिने सुरक्षाकर्मीहरू आफैँ पनि सम्भावित सडक दुर्घटनाबाट सुरक्षित रहन र डिउटीका क्रममा ट्राफिक नियमहरूको अक्षरसः पालना गराउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास लिइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार पछिल्लो समय बढ्दो सवारी चाप र सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूबीच आपसी समन्वय बढाउन र सडक अनुशासन कायम राख्न यो अभियान चलाइएको हो।

प्रशिक्षणका क्रममा सवारी चालक तथा पैदलयात्रीका रूपमा पालना गर्नुपर्ने कानुनी प्रावधान तीव्र गतिका कारण हुने क्षति, लागूपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा आउने कानुनी एवं भौतिक जोखिम र सडक संकेतहरूको सही प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो।
सुरक्षाकर्मीहरू आफैँमा सडक अनुशासनका रोल मोडल हुन्, ट्राफिक प्रहरी निरीक्षक थापा मगरले भने यो प्रशिक्षणले सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई फिल्डमा खटिँदा थप सुरक्षित रहन सहयोग गर्नेछ र आम नागरिकमा पनि ट्राफिक नियम पालनाप्रतिको चेतना फैलाउन मद्दत पुग्नेछ।
विशेष गरी वर्षातको समयमा सडक चिप्लो हुने र हुस्सु तथा खराब मौसमका कारण दुर्घटनाको जोखिम उच्च हुने भएकाले यस प्रकारको सचेतना कार्यक्रमलाई जिल्लाभरिका अन्य सरकारी तथा गैरसरकारी निकाय चालक समुदाय र विद्यालयहरूमा समेत निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाए।



