रौतहट प्रहरीको कार्यप्रगति: ५ करोडभन्दा बढीको अवैध सामान बरामद, १०३ तस्कर पक्राउ
शु. आ. सम्बाददाता
रौतहट, ०७ साउन
जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/८२ मा तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा जनसुरक्षासम्बन्धी विभिन्न उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सो अवधिमा भारतसँगको सीमा क्षेत्रबाट विभिन्न नाकामार्फत भित्र्याइएका ५ करोड ५१ लाख ५५ हजार २३५ रूपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो । बरामद गरिएका ती सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी गौरस्थित जिल्ला भंन्सार कार्यालयमा बुझाइएको जनाइएको हो ।तस्करीमा प्रयोग भएका ५ स्कारपियो, ४ पिकअप, १ ट्याक्टर, १० ई-रिक्सा, २४३ मोटरसाइकल र ३३ साइकलसहित कुल २९६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै, तस्करीमा संलग्न २२ जना विदेशी नागरिकसहित १०३ जना तस्करलाई पक्राउ गरि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको विवरणमा उल्लेख छ।
फरार प्रतिवादी पक्राउमा उल्लेखनीय सफलता
अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६४० जना प्रतिवादीहरूलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरि फैसला कार्यान्वयन गरेको छ। पक्राउ परेकाहरूबाट ४८ लाख २९ हजार ९८४ रूपैयाँ जरिवाना असुल गरिएको छ भने ११४ वर्ष १ महिना २० दिन कैद सजायका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रहरी उपरीक्षक नेत्रमणि गिरिले जानाए ।
हराइएका नागरिकको खोजतलास
प्रहरी कार्यालयमा दर्ता भएका महिला, बालबालिका तथा पुरुष गरी २८७ हराइएका व्यक्तिमध्ये २२७ जनाको खोजतलास गरि जिम्मेवारीमा बुझाइएको हो । बाँकी व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाए।
उजुरी व्यवस्थापनमा प्रगति
प्रहरीको उजुरी शाखामा दर्ता भएका ५,८३४ उजुरीमध्ये ४,९७६ उजुरी फर्छ्यौट गरिएको हो । बाँकी उजुरीहरू प्रक्रिया अन्तर्गत रहेको जनाइएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी उजुरीमा पनि प्रहरी सक्रिय देखिएको हो । कुल १,३९३ उजुरीमध्ये १,२०० उजुरीको फर्छ्यौट गरिएको छ भने ११३ उजुरी प्रक्रिया अन्तर्गत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको वार्षिक प्रगतिपत्रले जनताको सुरक्षा, तस्करी नियन्त्रण र न्यायिक निर्णय कार्यान्वयनमा प्रहरीको सक्रियता झल्काउने देखिन्छ।