मधेशसमाचार

गौर नगरपालिकाका सरसफाइ कर्मचारी पूर्वसूचनाविना हडतालमा: काममा फर्कन नगरपालिकाको अपिल, माग नगरसभाबाट समाधान गरिने

सत्येन्द्र प्रताप सिंह
रौतहट १६ असोज
​रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाका सरसफाइ कर्मचारीहरू पूर्वसूचना तथा पूर्वजानकारी नदिई अकस्मात हडतालमा उत्रिएपछि नगरको सरसफाइ व्यवस्थापन पूर्ण रूपमा प्रभावित भएको छ। नेपालीहरूको महान् पर्व बडादसैँको सङ्घारमा सेवा रोकेर आन्दोलन थालेपछि नगरपालिका कार्यालयले एक सार्वजनिक अपिल जारी गर्दै कर्मचारीहरूलाई तत्काल पूर्ववत् काममा फर्कन आग्रह गरेको छ।
​गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले बिहीबार एक सार्वजनिक अपिल जारी गर्दै सरसफाइ कर्मचारीहरू अकस्मात ड्युटी छाडेर हडतालमा गएको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको र यसप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
​नगरपालिकाद्वारा जारी अपिलमा सरसफाइ सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले प्रचलित कानुनी व्यवस्था अनुसार यस्ता सेवाहरूमा हडताल गर्न वा सेवा अवरुद्ध पुर्‍याउन नपाइने स्पष्ट पारिएको छ। कर्मचारीका समस्या तथा मागहरूलाई वार्ता संवाद र आपसी छलफलको माध्यमबाट समाधान गर्न नगरपालिका सधैँ तयार र खुला रहेको अपिलमा उल्लेख छ।
​प्रशासकीय अधिकृत पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गत असारमै प्रस्तुत भई पारित भइसकेको छ। यस परिस्थितिमा तलब वृद्धि लगायतका वित्तीय तथा नीतिगत मागहरूलाई आगामी हुने नगरसभामा पेस गरी छलफल गर्नुपर्ने कानुनी र विधिगत प्रक्रिया छ। प्रक्रियागत बाटो छाडेर कुनै पूर्वजानकारी नै नदिई एकाएक आन्दोलनमा जानु स्थापित नीति नियम र प्रशासनिक मर्यादा विपरीत रहेको नगरपालिकाको ठहर छ।
​कर्मचारीहरूसँग गरिने रचनात्मक वार्ताका माध्यमबाट पहिचान भएका जायज र उपयुक्त मागहरूलाई आगामी नगरसभाबाट सम्बोधन गर्न सकिने स्पष्ट पार्दै नगरपालिकाले जिम्मेवार बन्न आग्रह गरेको छ।
​विशेष गरी दसैँ जस्तो ठूलो चाडपर्व नजिकिँदै गर्दा बजार तथा आवासीय क्षेत्रमा फोहोरको चाप बढ्ने र सरसफाइ सेवा ठप्प हुँदा सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने जोखिम बढेको छ। नगरको दैनिक जनजीवन र वातावरणीय स्वच्छतालाई ध्यानमा राख्दै आन्दोलनरत सम्पूर्ण सरसफाइ कर्मचारीहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल काममा फर्कन गौर नगरपालिकाले आधिकारिक पत्र र अपिलमार्फत जोडदार आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button