मधेशसमाचार

सर्वसाधारणमाथि कडाइ, राति ठूलो परिमाणमा कपडा र हार्डवेयर ओसारपसार हुने स्थानीयको दाबी

बारा, १८ असोज
राजस्व चुहावट र अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मीको उपस्थितिमै बाराको मुसहर्वा नाकाबाट रातको समयमा ठूलो परिमाणमा कपडा तथा अन्य व्यापारिक सामान तस्करी हुने गरेको आरोप सार्वजनिक भएको छ। सीमा सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै निगरानी क्षेत्रबाट राति अवैध सामान नेपाल भित्रिने गरेको आरोप लागेपछि सीमा सुरक्षाको प्रभावकारिता र सम्बन्धित निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीयका अनुसार मुसहर्वा र बलिरामपुर नाका दिनको समयमा तुलनात्मक रूपमा सुनसान देखिए पनि रात परेपछि गतिविधि बढ्ने गरेको छ। बलिरामपुर नाका हुँदै इनर्वा गाउँ भएर भूटनदेवी माता मन्दिरतर्फको बाटो प्रयोग गरी भारतबाट दैनिक ठूलो परिमाणमा कपडा, हार्डवेयरलगायत विभिन्न व्यापारिक सामान बारा हुँदै पर्सा जिल्लातर्फ लैजाने गरिएको स्थानीयको दाबी छ।
रातको समयमा ठूलो परिमाणमा सामान ओसारपसार भइरहँदा सीमा सुरक्षामा खटिएका निकायले प्रभावकारी निगरानी तथा नियन्त्रण नगरेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार भारतको रक्सौलबाट घरायसी प्रयोजनका लागि सामान्य सामान खरिद गरी ल्याउने स्थानीयलाई भने दिनको समयमा कडाइका साथ चेकजाँच गर्ने, विभिन्न नियम सम्झाउने र भन्सार प्रक्रियामा पठाउने गरिएको छ।
तर, स्थानीयको आरोपअनुसार त्यही क्षेत्रमा रातको समयमा व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा सामान नेपाल प्रवेश गर्दा भने प्रभावकारी चेकजाँच नहुने गरेको छ। मुसहर्वा क्षेत्रका साना किराना पसले तथा स्थानीयवासीले रातको समयमा भारतबाट आउने सामान निर्वाध रूपमा भित्रिने गरेको दाबी गरेका छन्।
स्थानीयले प्रश्न गरेका छन्, “सर्वसाधारणले केही हजार रुपैयाँ बराबरको घरायसी सामान ल्याउँदा कडाइ गर्ने प्रहरीलाई रातको समयमा ठूलो परिमाणमा व्यापारिक सामान सीमापार भइरहेको जानकारी हुँदैन कि जानकारी हुँदाहुँदै पनि बेवास्ता गरिएको हो?”
मुसहर्वा नाकामा तस्करीको ‘लाइन’ खुलेको र त्यसका लागि सुरक्षाकर्मीसँग मिलेमतो हुने गरेको समेत आरोप स्थानीयस्तरमा उठेको छ। विशेषगरी मुसहर्वामा कार्यरत सहायक हवल्दार सन्तोष पटेलमार्फत व्यापारीबाट मासिक असुली हुने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्।
यदि रातको समयमा ठूलो परिमाणमा कपडा तथा अन्य व्यापारिक सामान अवैध रूपमा भित्रिने गरेको छैन भने त्यस्ता सामान कहाँबाट र कसरी सीमापार हुँदैछन् भन्ने प्रश्न उठेको छ। र, अवैध ओसारपसार भइरहेको हो भने सीमा सुरक्षामा खटिएका प्रहरी तथा सशस्त्र प्रहरीको निगरानी संयन्त्रले त्यसलाई किन नियन्त्रण गर्न सकेको छैन भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।
सीमावर्ती क्षेत्रमा सर्वसाधारणले घरायसी प्रयोजनका लागि सामान ल्याउँदा राजस्व, भन्सार र कानुनी प्रक्रियाका नाममा कडाइ व्यहोर्नुपर्ने तर ठूलो परिमाणमा व्यावसायिक सामान अवैध रूपमा भित्रिने गरेको आरोपमा सम्बन्धित निकाय मौन बस्ने अवस्था रहे कानुनको कार्यान्वयन समान रूपमा भइरहेको छ कि छैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
स्थानीयले मुसहर्वा नाकाबाट रातको समयमा हुने भनिएको ओसारपसारमाथि तत्काल छानबिन गर्न माग गरेका छन्। उनीहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको ड्युटी विवरण, रातिको गस्ती, चेकजाँच तथा सम्भावित ओसारपसारका मार्गसमेत निगरानीमा राख्नुपर्ने बताएका छन्।
स्थानीयका अनुसार कपडा मात्र नभई हार्डवेयरलगायत विभिन्न वस्तु दैनिक ठूलो परिमाणमा बारा हुँदै पर्सातर्फ पुग्ने गरेको छ। यस्तो ओसारपसार नियमित रूपमा भइरहेको हो भने त्यसबाट राज्यले राजस्व गुमाउनुका साथै सीमामा खटिएको सुरक्षा संयन्त्रको विश्वसनीयतामाथि समेत प्रश्न उठ्ने स्थानीयको भनाइ छ।
सीमा सुरक्षाको नाममा सर्वसाधारणलाई मात्र कडाइ गर्ने तर संगठित रूपमा हुने भनिएको अवैध ओसारपसारप्रति बेवास्ता गर्ने अवस्था भए त्यसको निष्पक्ष छानबिन आवश्यक रहेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार राम्रो काम गर्ने सुरक्षाकर्मीको प्रशंसा हुनुपर्छ, तर कुनै सुरक्षाकर्मीको कमजोरी, लापरबाही वा मिलेमतोका कारण अवैध कारोबारलाई प्रश्रय पुगेको भए त्यसबारे पनि जिम्मेवारी निर्धारण हुनुपर्छ।
विशेषगरी सहायक हवल्दार सन्तोष पटेलमाथि लगाइएको मासिक असुलीको आरोप गम्भीर भएकाले सम्बन्धित प्रहरी नेतृत्वले त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ।
अब प्रश्न मुसहर्वा नाकाबाट रातको समयमा हुने भनिएको ओसारपसारमा मात्र सीमित छैन। सीमा सुरक्षाको जिम्मेवारी पाएका निकायले कसका लागि र कस्तो ढंगले निगरानी गरिरहेका छन्? सर्वसाधारणमाथि लागू हुने कानुन रातको समयमा ठूलो परिमाणमा सामान ओसारपसार गर्ने भनिएका समूहमा पनि समान रूपमा लागू हुन्छ कि हुँदैन? भन्ने प्रश्नको जवाफ सम्बन्धित प्रहरी तथा सशस्त्र प्रहरी नेतृत्वले दिनुपर्ने अवस्था देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button