मधेशसमाचार

मधेश प्रदेश प्रमुखद्वारा असंवैधानिक नियुक्ति गरिएको आरोपमा ‘जेनजी एण्ड युथ अफ बारा’को विरोध

कलैया, २४ कार्तिक

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत एमाले नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको रूपमा नियुक्त गरेको घटनाप्रति ‘जेनजी एण्ड युथ अफ बारा’ ले तीव्र आपत्ति जनाएको छ। संगठनले आज एक विज्ञप्ति जारी गर्दै सो नियुक्ति संविधानको धारा १६८ को मर्म र प्रक्रिया दुबैको उल्लंघन भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य समस्याको बहानामा काठमाडौं जाने क्रममा प्रदेश प्रमुख भण्डारीले सिन्धुली-महोत्तरी सिमानाको एक होटलको कोठामा एमाले नेता सरोज कुमार यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्रीको शपथ गराएकी छन्, जसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

संगठनले यस्ता “दलाल र स्वाभिमान बेच्ने नेताहरू” लाई सामूहिक रूपमा बहिष्कार गर्ने चेतावनी दिएको छ। साथै, “देश र प्रदेशको स्वाभिमान माथि खेलवाड गर्नेहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नुपर्छ” भन्ने माग समेत गरेको छ।

विज्ञप्तिमा संविधानको धारा १६८ को व्याख्या गर्दै भनिएको छ कि मुख्यमन्त्री नियुक्तिको प्रक्रिया क्रमिक र चरणबद्ध छ, जसमा धारा १६८(२) अनुसार बहुमत दल वा गठबन्धनको समर्थन प्राप्त दलको नेताबाट सुरुवात गर्नुपर्छ। उक्त प्रक्रिया पूरा नभई धारा १६८(३) को प्रावधान लागू गर्नु संविधानको गम्भीर उल्लंघन हो।

जेनजी एण्ड युथ अफ बाराले संविधानको सर्वोच्चताको सम्मान गर्दै असंवैधानिक रूपमा गरिएको नियुक्ति तुरुन्त सच्याउन र मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट बर्खास्त गर्न नेपाल सरकारसँग माग गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button