जितपुर, १४ पौष
जितपुर बजारमा फुटपाथमा सञ्चालन हुँदै आएका व्यवसाय हटाउनुपर्ने माग गर्दै सटर व्यवसायीहरूले मुख्य सडकमा करिब एक घण्टा चक्काजाम गरेपछि बजार क्षेत्र तनावग्रस्त बनेको छ। लामो समयदेखि दबिएर रहेको सटर र फुटपाथ व्यवसायीबीचको विवाद आइतबार खुला रूपमा चर्किएको हो।
चक्काजाममा उत्रिएका सटर व्यवसायीहरूले आफूहरू नियमित रूपमा कर, भाडा तथा अन्य राजस्व तिर्दै आएको र नियमअनुसार व्यवसाय गरिरहेको दाबी गरेका छन्। सटर व्यवसायी रिना बजगाईंले फुटपाथमा जथाभावी व्यवसाय हुँदा बजार अव्यवस्थित बनेको बताउँदै जितपुरलाई सफा र सुन्दर बनाउन फुटपाथ व्यवसाय हटाउनुपर्ने माग गरिन्। “हामी सबै नियम पालना गर्छौं, कर तिर्छौं। फुटपाथ व्यवसायले बजारको स्वरूप बिगारेको छ,” उनले भनिन्।
यता फुटपाथमा जुत्ता–चप्पल सिलाउने व्यवसाय गर्दै आएका राहुल चमारले आफूहरू यही व्यवसायबाट परिवार पाल्दै आएको बताउँदै वैकल्पिक व्यवस्था बिना हटाउन नमिल्ने बताए। “हामी हट्न नमान्ने होइनौं, तर हामीलाई व्यवस्थित ठाउँ दिनुपर्छ। वैकल्पिक व्यवस्था भयो भने खुशीसाथ सर्छौं,” उनले भने।
चक्काजामप्रति असन्तुष्टि जनाउँदै स्थानीय युवा सुनिल शाहले समस्या समाधानका लागि सडक बन्द गर्नु उपयुक्त उपाय नभएको धारणा राखे। “जितपुरका दुवै पक्ष व्यापारी नै हुन्। यो धनी–गरिबको विषय होइन। बसेर संवादमार्फत समाधान खोज्नु राम्रो हुन्थ्यो,” शाहले बताए।
फुटपाथ व्यवसायीहरूले सटर व्यवसायीमाथि पनि आरोप लगाएका छन्। उनीहरूका अनुसार सटर व्यवसायीहरूले नियमविपरीत पाँच हातसम्म बाहिर सामान राखेर व्यापार गर्दा कारबाही हुँदैन, तर आफूहरू नालाको छेउमा सानो व्यापार गर्दा प्रशासन र सटर व्यवसायी दुवैबाट दबाब र धम्की आउने गरेको छ। “हामी कहाँ जाने?” उनीहरूको प्रश्न छ।
अर्का फुटपाथ व्यवसायी शम्भु शाहले ३०–३५ वर्षदेखि फुटपाथमै व्यापार गर्दै आएको उल्लेख गर्दै अहिले आएर हटाउने प्रयास अन्यायपूर्ण भएको बताए। “हामी हट्न तयार छौं, तर हामीलाई कतै व्यवस्थित रूपमा राखिदिनुपर्छ,” उनले माग गरे।
उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले सटर र फुटपाथ दुवै पक्ष व्यापारी नै भएकाले संवादबाटै दीर्घकालीन समाधान निकाल्नुपर्नेमा जोड दिए। “दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गरी सबैलाई स्वीकार्य समाधान खोज्नुपर्छ,” गुप्ताले भने।
हाल चक्काजाम खुले पनि जितपुर बजारमा सटर र फुटपाथ व्यवसायीबीचको विवाद समाधान नहुँदासम्म यस्ता समस्या पुनः दोहोरिन सक्ने स्थानीयवासीको चिन्ता छ।