कलैया , १४ पौष
बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रको आगमनसँगै प्रशासनिक कामकाज क्रमशः व्यवस्थित हुँदै गएको छ। गाउँपालिकाको कार्यालयमा अनावश्यक भिडभाड नियन्त्रण गर्दै सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय प्रवेशमा पास प्रणाली लागू गरिएको छ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले कार्यालयको मूल गेटमै आफ्नो विवरण अभिलेख गराउनुपर्ने व्यवस्था गरिएको छ। यस अभिलेख प्रणालीबाट सेवाग्राहीको पहिचान सुनिश्चित हुने र उनीहरूलाई आवश्यक सेवासम्बन्धी सम्बन्धित फाँटसम्म सहज रूपमा पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। यसले सेवा लिन आएका नागरिकलाई अनावश्यक भौंतारिनु नपर्ने र समयमै काम सम्पन्न हुने वातावरण सिर्जना गरेको छ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रसँग कुरा गर्दा उनले हालैको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा सरकारी सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन्। साथै, केही उपद्रवी समूहबाट गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याउने आशंका र अनावश्यक व्यक्तिहरूको भिडभाड बढ्दै गएको सूचनाका आधारमा सुरक्षात्मक तथा व्यवस्थापन सुधारका कदम चालिएको स्पष्ट पारेका छन्।
उनका अनुसार पास प्रणाली र अभिलेख व्यवस्थाले कार्यालयको सुरक्षा सुदृढ गर्नुका साथै सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न मद्दत गर्नेछ। आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन थप सुधारका योजना पनि अघि बढाइने जनाइएको छ।
स्थानीय सेवाग्राहीहरूले नयाँ व्यवस्थाले सेवा लिन सहज भएको प्रतिक्रिया दिएका छन्। प्रशासनिक अनुशासन र पारदर्शिता बढाउने यो कदमले बारागढी गाउँपालिकाको सेवा प्रवाहमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।