नारायणी अस्पतालको इमरजेन्सी भवन ठेक्का प्रकरणमा साह सहित सबै प्रतिवादीलाई सफाइ
कलैया, १५ पौष
पर्साको वीरगंज स्थित नारायणी अस्पतालको इमरजेन्सी भवन निर्माणमा ठेक्का प्रक्रिया सीमित पारेको आरोपमा मुद्दा खेपिरहेका तत्कालीन पूर्वाधार विकास कार्यालय, बाराका निमित्त कार्यालय प्रमुख इञ्जिनियर राजेन्द्र साहसहित १० जना प्रतिवादीले सफाइ पाएका छन्।
सोमबार विशेष अदालतले गोश्वारा अभियोग लगाइएका सबै प्रतिवादीमाथि आरोप पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको ठहर गर्दै सफाइ दिएको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले करिब ९ महिनाअघि दायर मुद्दामा अन्तिम फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ वैशाख नारायणी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सञ्जय कुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालयका तत्कालीन निमित्त प्रमुख इञ्जिनियर राजेन्द्र साह र इञ्जिनियर महमद सकुर अन्सारीलाई मुख्य विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो।
त्यसैगरी, अस्पतालका नायव सुब्बा सुशीलप्रसाद यादव, लेखापाल सुदिप कुमार माझी, मूल्यांकन समिति संयोजक वीरेन्द्रबहादुर प्रधान, सदस्य सचिव माधवी चौधरी तथा निर्माण कम्पनी र त्यसका निर्देशक जगत बुढा र प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा समेत प्रतिवादी थिए। अदालतको फैसलापछि सबैले सफाइ पाएका छन्।
अख्तियारले आर्थिक वर्ष ०७७/७८ मा इमरजेन्सी भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत कार्य गरिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। तर विशेष अदालतले संक्षिप्त फैसलामा गोश्वारा रूपमा अभियोग लगाइए पनि आरोपलाई वस्तुनिष्ठ रूपमा पुष्टि गर्ने प्रमाण प्रस्तुत हुन नसकेको जनाएको छ।
फैसलामा उल्लेख भएअनुसार, बोलपत्र प्रक्रियामा सहभागी भई प्राविधिक प्रस्तावमा अनुत्तीर्ण भएका निर्माण व्यवसायीले तत्काल कानुनी उपचार नलिएको, हाल भवन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा रहेको तथा आरोप दाबी गरिएको अवधिमा प्रतिवादीहरू विभिन्न तहमा सरुवा भई आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्था देखिएको छ।
विशेष अदालतमा मुद्दा दर्ता हुँदा इञ्जिनियर राजेन्द्र साह पूर्वाधार विकास कार्यालय, बाराका निमित्त कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका थिए। अदालतबाट सफाइ पाएसँगै इञ्जिनियर साहसहित सबै प्रतिवादी पुनः सेवामा फर्किने भएका छन्।