बारा , ११ माघ
बारा क्षेत्र नं. २ मा आगामी प्रतिनिधि सभा निर्वाचनको माहोल रोचक बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका चन्दन सिंहको व्यक्तित्व र लोकप्रियताले चुनावी प्रतिस्पर्धामा नयाँ गतिशीलता थपेको विश्लेषकहरूको टिप्पणी छ।
सिंहले आफ्नो राजनीतिक छवि, स्थानीय जनसमर्थन र विविध सामाजिक सञ्जाल मार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क कायम गर्दै निर्वाचन क्षेत्रको सबैभन्दा चर्चित पात्र बनेको बताइएको छ। उनका समर्थकहरूले उनको युवा नेतृत्व र नयाँ दृष्टिकोणलाई पक्षमा राख्दै मतदान गर्ने संकेत दिएका छन्।
उक्त निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार भैयाराम यादव, नेकपा एमालेका बलबिर चौधरी र जनमत पार्टीबाट सिए राजेश साहले पनि उम्मेदवारी दिएका छन्। यसले बारा–२ को निर्वाचनलाई बहुपक्षीय र प्रतिस्पर्धात्मक बनाएको छ।
राजनीतिक विश्लेषकहरूले बारा–२ मा उम्मेदवारहरूको सघन प्रचार–प्रसार, घरदैलो र मतदातासँगको प्रत्यक्ष संवादले चुनावी परिणामलाई अप्रत्याशित बनाउन सक्ने अनुमान गरेका छन्। चन्दन सिंहको उम्मेदवारीले पुराना दलहरूका उम्मेदवारहरूको रणनीतिलाई चुनौती दिएको र मतदाताको रोजाइमा परिवर्तन ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ।
मतदाता र स्थानीय नागरिकहरूका अनुसार चुनावी मैदानमा सिंहको सक्रियता, सरल पहुँच र स्पष्ट एजेन्डाले बारा–२ को निर्वाचनलाई थप रोचक बनाएको छ। आगामी फागुन २१ मा हुने निर्वाचनले मतदाताको प्राथमिकता र क्षेत्रीय राजनीतिक समीकरणमा स्पष्ट संकेत दिने विश्वास विश्लेषकहरूले व्यक्त गरेका छन्।