मधेशसमाचार

पर्सामा सशस्त्र प्रहरीको कारबाही, १३ लाखभन्दा बढीको अवैध सामान बरामद

हरिकिशोर शर्मा
पर्सा, १८असोज १८
पर्सामा सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याइएका तथा अवैध रूपमा ओसारपसार गरिएका विभिन्न सामानसहित करिब १३ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। बरामद सामग्रीमा ट्र्याक्टर, कपडा, औषधि, एसी, स्मार्ट टिभीलगायतका सामान रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, पर्साका अनुसार असोज १६ र १७ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट खटिएको टोलीले अवैध रूपमा भित्र्याइएका सामान नियन्त्रणमा लिएको हो।
असोज १६ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वा बलिरामपुरस्थित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको २ लाख ५१ हजार ८२० रुपैयाँ बराबरको कपडा तथा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।
सोही टोलीले वीरगञ्ज–१६ स्थित भन्सार मेनगेट क्षेत्रबाट १ लाख १२ हजार ८०० रुपैयाँ बराबरको स्मार्ट टिभी तथा टाँगा र घोडासमेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–१ बोरिङस्थित सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको टोलीले झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा १ लाख ७३ हजार ७१० रुपैयाँ बराबरको कपडा तथा हार्डवेयरका सामान बरामद गरेको थियो।
असोज १७ गते पकाहामैनपुर गाउँपालिका–५ सबैठवा सीमा क्षेत्रबाट सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीको टोलीले भारतबाट चार जनाले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, वीरगञ्ज–१६ इनर्वा क्षेत्रबाट खटिएको टोलीले दुई जनाले भारतबाट भन्सार छली ल्याउँदै गरेको ६० हजार रुपैयाँ बराबरको एसी नियन्त्रणमा लिएको थियो।
वीरगञ्ज महानगरपालिका–२५ खल्वास्थित बीओपी ड्राइपोर्टबाट खटिएको टोलीले पनि दुई जनाले टाउकोमा बोकेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ लाख २७ हजार ३८० रुपैयाँ बराबरका विभिन्न प्रकारका औषधि बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरीले अवैध ओसारपसार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने राजस्व चुहावट रोक्न निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button