देवाही गोनाहीका मेयर प्रेमलाल साहमाथि मेला उद्घाटनका क्रममा ढुंगामुडा, अवस्था गम्भीर
शु. आ. सम्बाददाता
रौतहट, ०१ भाद्र
रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख (मेयर) प्रेमलाल साह शनिबार साँझ कृष्ण जन्माष्टमी मेलामा अन्धाधुन्ध ढुंगामुडामा परेपछि गम्भीर घाइते भएका छन्।
वडा नं. ९, धरहरहरी स्थित कृष्ण मन्दिर परिसरमा आयोजना गरिएको मेलामा उद्घाटनका लागि पुगेका मेयर साहलाई समितिले स्वागत गर्दै मञ्चतर्फ लैजाँदै गर्दा अचानक भिडमा होहल्ला सुरु भयो। त्यहीबीच मेला उद्घाटन नगर्ने भन्दै मञ्चबाट तल ओर्लन लागेका मेयर साहमाथि स्थानीय राम प्रवेश साह नेतृत्वको समूहले ढुंगा–इटा प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
आक्रमणमा दुई जना वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव र धनसुन्दर ठाकुरसहित दुई सर्वसाधारण घाइते भएका छन्। उनीहरूको उपचार गरुडास्थित बेटर नेपाल मल्टी स्पेसलिटी अस्पतालमा भइरहेको छ।
मेयर साहलाई भने टाउकोमा गम्भीर चोट लागी १६ वटा टाँका लगाउनुपरेको छ। अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि वीरगंज पठाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडाले संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटना संग सम्बन्धित रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धार्मिक–सांस्कृतिक उत्सवमा राजनीतिकरण हुँदै जाँदा मेलाजात्रा कलहको केन्द्र बन्दै स्थानीय बुद्धिजीवीहरुले बताएका छन् । भने मेला स्थल वरिपरि अहिले पनि सुरक्षा सतर्कता बढाइएको छ।