जग्गाको लागि ससुराली पक्षले मेरो छाेरी राेमा साहलाई हत्या गरेर फालेको माइती पक्षको आरोप

14

जग्गाको लागि ससुराली पक्षले मेरो छाेरी राेमा साहलाई हत्या गरेर फालेको माइती पक्षको आरोप

 

रूपेश यादव

 

रौतहट, ०२ भाद्र

 

रौतहटको चन्द्रपुर नगरपालिका -९ चेतनगर विर्ता बस्ने २४ वर्षीया रोमा कुमारी साहलाई ससुराली पक्षले हत्या गरी फालेको माइती पक्षको आरोप रहेको छ। जग्गा विवाद लगायत कारणले ससुराली पक्षले आफ्ना छोरी रोमालाई हत्या गरी फालेको उनका बुवा चुल्हाई साहले आरोप लगाएका छन्।

 

देवाही गोनाही नगरपालिका वडा नम्बर २ घर भएका चुल्हाई साहले आईतबार आफ्नै गाउँमा पत्रकार सम्मेलन गरी घटना बारे जानकारी दिदै आरोप लगाएका छन्।

 

उनको अनुसार राैतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका -९ का जादोलाल साहको छोरा सरोज साहसंग लगभग तीन वर्ष अघि आफ्ना छोरी रोमा कुमारीको मागी विवाह गरेको बताएका छन् ।

 

छोरी रोमा कुमारीको उनका श्रीमान सरोज साह, जेठान मनोज साह, जेठानी रेखा साह, ससुरा लगायत घरका अन्य सदस्यहरू मिली हत्या गरी गाउँभन्दा पर रहेको एक नहरीमा फालेको अवस्थामा शव फेला परेको साहले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

 

मृतकका बुवा साहका अनुसार रोमाको श्रीमान सरोजको जेठो दाई मनोज साहले घडेरी किनी आफ्नो व्यक्तिगत नाउँमा बकसपत्र गराएका थिए। घरका सबै सदस्य सँगोलमा बस्दै आएकोमा आफूहरुसंग बेइमानी गर्ने नियतका साथ मनोज साहले गुपचुप ढंगले घडेरी किनेको कुरा रोमा कुमारीले पछि थाहा पाएकी थिइन्।

 

त्यसपछि रोमाले मनोजले किनेको जग्गाबाट अँश आफुले पनि पाउनुपर्ने अडान लिन थालेपछि घरमा विवाद शुरु भएको थियो। उक्त विवादको बिचमा रोमा माथि घरका सदस्यहरूले बोक्सीको समेत आरोप लगाएको उनको बुबाले बताएका छन्।

 

सोही विवादबाट उन्मुक्ति पाउन रोमाका श्रीमान सरोज, जेठान मनोज र जेठानी रेखा साह मिलेर आफ्ना छोरी रोमाको गत साउन १५ गते हत्या गरेर नहरिमा फालेको रोमाका बुवा चुल्हाई साहको आरोप छ।

 

उनले भने, ‘ नहरीमा डुबेर मरेको भए पेट पानीले फुलेको हुनुपर्थ्यो तर पेटमा पानी नै नभएकोले घटना शंकास्पद लागेपछि आफूहरुले शव पोस्टमार्टम गर्न भन्यौ ।’

तर शव पोस्टमार्टम गरेपछि घटनाको पोल खुल्ने डरले रोमाका श्रीमान, जेठान, ससुरा लगायतले पोस्टमार्टम गर्न नमानेको उनको दुःखेसो रहेको छ । मृतक रोमा कुमारीको ९ महिनाका एक छोरा र डेढ वर्षकी एक छोरी गरी दुई सन्तान छन् । उनको विवाह भएको तीन वर्षमै ज्यान गएको हो ।

 

उनले अघि भने, त्यति मात्र नभई उनका ससुराली पक्षले पोस्टमार्टम नगरी घटना मिलापत्र गर्न दबाब दिन थाले, त्यसपछि झन् शंका लाग्यो, त्यसपछि हामी पोस्टमार्टम नगरी शव जलाउन नदिने आफूहरु अडान लिएका थियौ।’

त्यसपछि प्रहरीले पोस्टमार्टम गर्न तयार भए र पोस्टमार्टम गरिएको थियो ।

 

ससुराली पक्षले शव पोस्टमार्टम गर्न नमान्नु, पोस्टमार्टम गर्नुभन्दा अघि मिलापत्र गर्न दबाब दिनु, पेटमा कहीं कतै पानी नदेखिनु, शरीरको कुनै भागमा निलडाम नदेखिनु जस्ता कारणले आफ्ना छोरीको डुबेर मृत्यु नभई उनका ससुराली पक्षले मारेर नहरीमा फालेको माइती पक्षको बुझाइ रहेको छ।

घटना शंकास्पद रहेकोले पोस्टमार्टम रिपोर्टको आधारमा छानबिन गरी घटनामा संलग्नलाई कार्वाही गर्नुको सट्टा प्रहरीले उनीहरुलाई उल्टै जोगाउन खोजेको मृतक रोमाका बुवा चुल्हाई साहले आरोप लगाएका हुन्।

घटनामा संलग्न रहेका रोमाका श्रीमान सरोज, जेठान मनोज, जेठानी रेखा साह सहितका व्यक्ति माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिइएपनि प्रहरीले अझै कुनै सुनुवाई नगरेको रोमाका बुवा चुल्हाई साहले दुखेसो गरेका छन् ।

रोमाका बुवा चुल्हाई साहले दोषीलाई कारवाही गर्न उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरूडामा जाहेरी दिएको एक साता भन्दा बढी भएपनि प्रहरीले अझै जाहेरी दर्ता गर्न सकेको छैन ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि रोमाका माइती पक्षका व्यक्तिहरू निकै पीडित र चिन्तित भएका छन्।

छोरीको हत्यारालाई कार्वाही गराउनका लागि चुल्हाई साह प्रहरी कहाँ धाइरहेका छन् तर प्रहरीले उनको कुरा सुन्न मानेका छैनन ।

ससुराली पक्षले आफ्ना छोरीको हत्या गरेपनि न्यायका लागि प्रहरीमा गएपनि प्रहरीले समेत नसुनेपछि अब न्याय माग्न कहाँ जाने भन्दै चुल्हाई साह निकै चिन्तामा परेका छन्।

प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेपछि पत्रकारको सहारा लिन आफू पत्रकार सम्मेलन गरेको उनले बताए।

छोरीको न्यायका लागि उनका बुवा साहले मिडियामा आएर पत्रकारलाई हारगुहार गर्न बाध्य छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले घटना बारे आफूहरुले वास्तविकता बुझिरहेकोले अहिले मुद्दा दर्ता नगरेको बताएका छन्।

घटनाको वास्तविकता के हो भन्ने बारे अहिले बुझ्ने काम भइरहेको र यस बारे पूर्ण अनुसन्धान सकेपछि दोषी देखिएका व्यक्तिहरूमाथी मुद्दा चलाउने इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी कार्कीले बताए ।

घटना बारे आफूहरुले बुझिनै रहेकाले यही बीचमा पीडितले प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्ने लगाएको आरोप गलत रहेको डीएसपी कार्कीको भनाई छ।

आफूहरुले पीडितलाई कुनै प्रकारको दुःख नदिने मानसिकताका साथ पीडितकै पक्षमा काम गरिरहेकाले पीडितले आतिनु नपर्ने उनी बताउँछन् ।

पीडितले कुनै हालतमा न्याय पाउने र दोषी उम्कन नपाउने डीएसपी कार्कीले बताए।

पीडितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने सवालमा आफू कसैसँग कुनै किसिमको सम्झौता नगर्ने उनले प्रस्ट पारे ।

Leave A Reply

Your email address will not be published.