असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्ति विरोधमा कलैयामा जनमत पार्टीको प्रदर्शन

26

कलैया, २४ कार्तिक

मधेश प्रदेशकी प्रदेश प्रमुखले असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको विरोधमा जनमत पार्टीले बाराको कलैया स्थित भरत चौकमा विरोध प्रदर्शन गरेको छ।

जनमत पार्टीका जिल्ला इञ्चार्ज शिवनाथ पटेलको नेतृत्वमा गरिएको प्रदर्शनमा पार्टीका कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले “प्रदेश प्रमुखलाई बर्खास्त गर”, “मुख्यमन्त्रीको असंवैधानिक नियुक्ति खारेज गर”, “मधेशलाई स्वायत्त प्रदेश घोषणा गर” लगायतका नारा लगाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज पटेलले भने, “संविधानको मर्म र लोकतान्त्रिक अभ्यास विपरीत सत्ताको दुरुपयोग गर्दै प्रदेश प्रमुखले असंवैधानिक निर्णय गरेकी छन्। यसले मधेशको जनभावनाको अपमान गरेको छ।” उनले यस्तो कदमले प्रदेशमा राजनीतिक अस्थिरता निम्त्याउने चेतावनी दिए।

प्रदर्शनकारीहरूले भरत चौकबाट सुरु गरी कलैया बजार परिक्रमा गर्दै र्याली पनि निकालेका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

जनमत पार्टीले प्रदेश प्रमुखको असंवैधानिक कदम खारेज गर्न तथा संघीय सरकारले यस विषयमा छानबिन गरी संवैधानिक मर्यादा पुनःस्थापना गर्नुपर्ने माग गरेको छ।

Leave A Reply

Your email address will not be published.