सिमरा विमानस्थल आसपासको क्षेत्र कर्फ्यू
बारा,०३ मंसिर
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाभित्रको संवेदनशील क्षेत्रमा आज दिउँसोदेखि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी कर्फ्यू आदेशअनुसार सिमरा विमानस्थल आसपास Zen-Z युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहबीच झडप बढ्न थालेपछि सुरक्षा जोखिम न्यूनीकरणका उद्देश्यले कर्फ्यू लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार आज दिउँसो १२:३० बजेबाट बेलुका ८:०० बजे सम्म कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, सभा, प्रदर्शन र घेराउ निषेध गरिएको छ। कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम जारी गरिएको हो।
कर्फ्यू लागू क्षेत्र:
१. गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्ग – दायाँ–बायाँ ५०० मिटरभित्र
२. सिमरा विमानस्थल वरिपरि – ५०० मिटर भित्र
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारी तथा हवाई टिकट भएका यात्रुहरू का हकमा भने सुरक्षाकर्मीले आवश्यक सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
जिल्लामा बढ्दै गएको सुरक्षा तनावलाई नियन्त्रणमा ल्याउन कर्फ्यू प्रभावकारी हुने विश्वास प्रशासनले व्यक्त गरेको छ।