मधेशसमाचार

रोपाइँ सकिन लाग्दा पनि मलको हाहाकार : घण्टौँ लाइन बसेर रित्तै फर्किन बाध्य किसान

कलैया, १२ साउन
बारा जिल्लामा धान रोपाइँको मुख्य समय सकिन लाग्दा पनि किसानले आवश्यक मात्रामा रासायनिक मल नपाउँदा खेती प्रभावित बनेको छ। धानबालीका लागि अत्यावश्यक युरिया र डिएपी मलको अभावका कारण किसानहरू सहकारी संस्था र बिक्री केन्द्रमा बिहानैदेखि लाइन बस्न बाध्य छन्। तर, घण्टौँ पालो कुर्दासमेत मल नपाएर रित्तै हात फर्किनुपरेको गुनासो किसानहरूले गरेका छन्।
सरकारले देशभर पर्याप्त परिमाणमा मल आयात गरिएको र वितरण भइरहेको दाबी गरिरहेको भए पनि बारा जिल्लाका किसानले भने त्यसको प्रत्यक्ष अनुभूति गर्न नसकेको बताएका छन्। मलको कृत्रिम अभाव, वितरणमा अव्यवस्था तथा सीमित परिमाणमा उपलब्ध गराइँदा खेतीपाती नै संकटमा परेको उनीहरूको भनाइ छ।
कलैया उपमहानगरपालिका–१४ का किसान सरोज ठाकुरले धान रोपाइँको बेला मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने बताए।
उनले भने, “सरकारले लाखौँ मेट्रिक टन मल आएको भन्छ, तर हामी किसानले किन पाएका छैनौँ ? बिहानदेखि लाइनमा बस्दा पनि मल सकियो भनेर फर्काइन्छ। समयमा मल नपाएपछि धानको उत्पादन कसरी बढ्छ ?”
यस्तै कलैया–१० निवासी सन्तोष यादवले वितरण प्रणाली पारदर्शी नभएको आरोप लगाए।
उनले भने, “किसानलाई आवश्यक पर्ने बेलामा मल पाइँदैन। कतिपयले सजिलै पाउँछन्, हामी भने घण्टौँ लाइन बसेर पनि खाली हात फर्किनुपर्छ। सरकारले अनुगमन गरेर वास्तविक किसानसम्म मल पुर्‍याउनुपर्छ।”
देवताल गाउँका किसान सुमोद पण्डितले धानबालीमा पहिलो चरणमै युरिया हाल्नुपर्ने समयमा मल अभाव हुँदा उत्पादन घट्ने चिन्ता व्यक्त गरे।
उनले भने, “मल नपाएर धानको वृद्धि नै रोकिने अवस्था छ। खेतीपाती समयसँग जोडिएको काम हो, एक-दुई हप्ता ढिला हुँदा पनि ठूलो नोक्सानी हुन्छ। सरकारले तत्काल पर्याप्त मल उपलब्ध गराउनुपर्छ।”
सिम्रौनगढ निवासी रामबालक रामले किसानको समस्या प्रत्येक वर्ष दोहोरिने गरेको बताए।
उनले भने, “हरेक वर्ष धान रोपाइँको समयमा यही समस्या हुन्छ। सरकारले समयमै मलको व्यवस्थापन गर्न नसक्दा किसान नै मारमा परिरहेका छन्। यस्तो अवस्था अन्त्य हुनुपर्छ।”
किसानहरूले सहकारी तथा बिक्री केन्द्रमा हुने वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन माग गरेका छन्। साथै, वास्तविक किसानको पहिचान गरी पर्याप्त मात्रामा युरिया र डिएपी मल सहज रूपमा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
धानबाली नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक भएकाले रोपाइँपछिको समयमा युरिया र डिएपी मलको अभावले उत्पादनमा नकारात्मक असर पर्ने कृषि प्राविधिकहरूको भनाइ छ। त्यसैले सम्बन्धित निकायले तत्काल प्रभावकारी आपूर्ति व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button