मधेशसमाचार

नारायणी अस्पतालका ६५ बढी चिकित्सकको सामूहिक राजीनामा, सुरक्षा सुनिश्चित नभएसम्म सेवा नदिने घोषणा

वीरगंज, १२साउन

नारायणी अस्पतालमा कार्यरत ६५ भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले पेसागत सुरक्षा सुनिश्चित नभएसम्म काम गर्न नसक्ने जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
चिकित्सकहरूले साउन १२ गते दर्ता नं. २२६ मार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्टसमक्ष संयुक्त रूपमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक आक्रमण, दुर्व्यवहार र असुरक्षाको वातावरण सिर्जना भएको उल्लेख गरिएको छ।
उनीहरूका अनुसार गत साउन ९ गते अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्समाथि हातपात, अभद्र व्यवहार र अस्पतालको भौतिक संरचनामा तोडफोड भएको थियो। त्यसपछि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारी र प्रमुख मेडिकल सुपरिटेन्डेन्टको उपस्थितिमा संवाद भइरहेका बेला पनि स्थानीय प्रशासन र प्रहरीको व्यवहारप्रति चिकित्सकहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
राजीनामा पत्रमा स्थानीय प्रशासन र प्रहरी नेतृत्वकै निर्देशनमा चिकित्सकहरूमाथि कुटपिट, दुर्व्यवहार तथा धरपकड गरिएको आरोपसमेत लगाइएको छ। यस्तो परिस्थितिमा पेसागत सुरक्षा, सम्मान र कानुनी संरक्षणको प्रत्याभूति नहुँदासम्म सेवा प्रवाह गर्न नसकिने चिकित्सकहरूको निष्कर्ष रहेको छ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उदय नारायण सिंह, डा. निरज कुमार सिंह, डा. विकास साह, डा. अरुण कुमार प्रसाद, डा. शैलेश ठाकुर, डा. सुनन्दा प्रसाद चौधरी, डा. राकेश तिवारीसहित ६५ भन्दा बढी प्रमुख कन्सल्टेन्ट तथा मेडिकल अधिकृतहरूले साउन १२ गतेदेखि लागू हुने गरी संयुक्त रूपमा सामूहिक राजीनामा दिएको जनाएका छन्।
चिकित्सकहरूको यस निर्णयले नारायणी अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुने सम्भावना बढेको छ भने पेसागत सुरक्षाको विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button