मधेशसमाचार

प्रादेशिक अस्पतालमा सामान्य एसिलकसमेत नपाउँदा बिरामी निजी मेडिकल धाउन बाध्य

कलैया, ०६ साउन
 मधेश प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था प्रादेशिक अस्पताल, कलैयामा अत्यावश्यक औषधिको अभाव देखिएको छ। अस्पतालको आफ्नै फार्मेसीमा सामान्य रूपमा प्रयोग हुने एसिलक (Aciloc) देखि कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको जीवनरक्षक भ्याक्सिन समेत उपलब्ध नभएको पाइएको छ। यसले अस्पतालको औषधि व्यवस्थापन र सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठाएको छ।
मंगलबार उपचारका लागि अस्पताल पुगेका एक बिरामीलाई चिकित्सकले एसिलक आवश्यक भएको बताएपछि उनीसँग रहेका कुरुवा राजकुमार यादवले अस्पताल फार्मेसीमा खोज्दा औषधि नभएको जानकारी पाएका थिए। अन्ततः सरकारी अस्पतालबाट नपाएपछि बाध्य भएर बाहिरको निजी मेडिकलबाट औषधि खरिद गर्नुपरेको उनले बताए।
यति मात्र होइन, कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउन पुगेका अर्का सेवाग्राहीलाई अस्पतालले “भ्याक्सिन चार महिनादेखि सकिएको छ” भन्ने जानकारी दिएको स्रोतले जनाएको छ। रेबिज जस्तो घातक रोगबाट जोगाउन अत्यन्तै आवश्यक मानिने भ्याक्सिन लामो समयदेखि उपलब्ध नहुनुलाई स्वास्थ्य अधिकारमाथिको गम्भीर लापरवाहीका रूपमा हेरिएको छ।
यस विषयमा प्रतिक्रिया लिन प्रादेशिक अस्पतालका सूचना अधिकारी तथा सहायक अधिकृत राजकिशोर प्रसाद पण्डितसँग प्रत्यक्ष भेट हुँदा उनले एन्टी रेबिज भ्याक्सिन करिब चार महिनादेखि उपलब्ध नभएको स्वीकार गरे। एसिलकको विषयमा भने सोही गुणस्तरको अर्को कम्पनीको औषधि उपलब्ध रहेको र आवश्यक परे आफूले उपलब्ध गराइदिने बताए।
त्यसैगरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलसँग टेलिफोन सम्पर्क गर्दा उनले कुनै बिरामीले औषधि नपाएको जानकारी आफूलाई गराए तत्काल उपलब्ध गराउने प्रयास गर्ने प्रतिक्रिया दिए।
तर प्रश्न उठ्ने विषय के हो भने, अस्पतालका जिम्मेवार अधिकारीहरूले औषधि उपलब्ध गराइदिने आश्वासन दिए पनि बिरामीले फार्मेसीबाट सहज रूपमा औषधि नपाएर निजी मेडिकल धाउनुपर्ने अवस्था किन आयो? यदि विकल्पको औषधि उपलब्ध थियो भने फार्मेसीबाट बिरामीलाई किन वितरण गरिएन? र यदि रेबिज भ्याक्सिन चार महिनादेखि सकिएको थियो भने त्यसको आपूर्तिका लागि सम्बन्धित निकायले समयमै पहल किन गरेन?
सरकारी अस्पतालमा निःशुल्क वा सहुलियत दरमा उपलब्ध हुनुपर्ने अत्यावश्यक औषधि अभाव हुँदा आर्थिक रूपमा कमजोर नागरिक प्रत्यक्ष मारमा परेका छन्। विशेषगरी एन्टी रेबिज भ्याक्सिन जस्तो जीवनरक्षक औषधि लामो समयसम्म मौज्दात नरहनु अस्पताल प्रशासनको तयारी, आपूर्ति व्यवस्थापन र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले अस्पतालमा अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न, औषधि खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन र देखिएको लापरवाहीबारे सम्बन्धित निकायले तत्काल छानबिन गरी आवश्यक सुधार गर्न माग गरेका छन्। सरकारी अस्पतालप्रतिको नागरिकको विश्वास कायम राख्न प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा अस्पताल प्रशासनले औषधि अभावको समस्या तत्काल समाधान गर्नु अपरिहार्य देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button