
बारा , ०४ साउन
बाराको सिम्रौनगढ नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया अगाडि बढाउँदै सम्बन्धित नागरिकबाट निवेदन संकलन अभियान सुरु गरेको छ। यसका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले सबै वडा कार्यालयलाई पत्राचार गर्दै तोकिएको समयभित्र योग्य लाभग्राहीको निवेदन संकलन गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
नगरपालिकाले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिबाट प्राप्त निर्देशनका आधारमा निवेदन संकलन गरिने जनाएको छ। सूचनाअनुसार २०८३ साउन ४ गतेदेखि ३५ दिनभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले तोकिएको ढाँचामा निवेदन फाराम भरी लागत संकलकमार्फत पेस गर्नुपर्नेछ।
प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले भूमि समस्या समाधानको प्रक्रिया प्रभावकारी बनाउन सबै वडा कार्यालयले सूचना व्यापक रूपमा प्रवाह गर्न, वास्तविक लाभग्राहीको पहिचान गर्न र निवेदन संकलन कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरेका छन्। उनले सरकारको मापदण्डअनुसार योग्य नागरिकलाई मात्रै समेट्ने गरी पारदर्शी प्रक्रिया अपनाउन निर्देशन दिएका छन्।

नगरपालिकाका अनुसार भूमिहीन तथा अव्यवस्थित बसोबासीको तथ्यांक अद्यावधिक गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने सरकारी अभियानलाई सहयोग पुर्याउने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको हो। यस अभियानले वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित नागरिकलाई कानुनी अधिकार दिलाउने आधार तयार हुने अपेक्षा गरिएको छ।
सिम्रौनगढ नगरपालिकाले यसअघि पनि यस्तै सूचना जारी गरेको भए पनि सबै लक्षित नागरिकको पहुँचमा सूचना नपुगेको निष्कर्षपछि दोस्रो पटक सूचना प्रकाशन गरिएको जनाएको छ। नगरपालिकाले योग्य लाभग्राहीलाई तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा निवेदन दर्ता गर्न आग्रह गरेको छ।
स्थानीयवासीले पनि भूमि समस्याको दीर्घकालीन समाधानका लागि सुरु गरिएको प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले निष्पक्ष र पारदर्शी ढंगले लाभग्राही छनोट गरी वास्तविक भूमिहीन नागरिकलाई जग्गाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।



